
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबारको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई 'डकवर्थ एन्ड लुइस' नियमका आधारमा ६ रनले हराएको छ ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईको टोलीले ४.१ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
वर्षाका कारण केही समय खेल रोकिएपछि यूएईको टोलीले 'डकवर्थ एन्ड लुइस' नियमका आधारमा ३८ ओभरमा दुई सय ५५ रन बनाउनुपर्ने गरी नयाँ लक्ष्य पाएको थियो ।
तर, यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४८ रन मात्र बनाउन सक्यो । यूएईका लागि मुहम्मद सहाददले अर्धशतक बनाए ।
उनले ७२ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ६५ रन बनाए । खुजाइमा तनवीरले पनि केवल २६ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ४९ रन जोडे ।
हरप्रित सिंहले पनि ४० बलमा पाँच चौकाको मद्दतले ४१ रन जोडे । ओपनर आर्यान्श शर्माले पनि ३२ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ३३ रन बटुले । अक्षदीप नाथ ३६ रनमा अविजित रहे ।
नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । सोमपाल कामी र नन्दन यादवले पनि दुई–दुई विकेट हात पारे ।
प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेका छन् ।
सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने पहिलो बलर बनेका छन् । यसअघि पनि लिग–२ प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी पहिलो स्थानमै थिए ।
२५ वर्षीय सन्दीपले यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई आफ्नो १००औँ शिकार बनाए । उनले आर्यान्शलाई ३३ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका थिए ।
उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ३१ खेलको ३० पालीमा ७२ विकेट लिएका थिए । जारी दोस्रो संस्करणमा पनि १९ खेलको १७ पालीमा ३० विकेट लिइसकेका छन् ।
त्यसअघि, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पाली खेलेका थिए । पाँचौँ नम्बरमा क्रिज सम्हाल्न आएका उनले एक सय रन बनाए । उनले ९४ बलको सामना गरी एक छक्का र १३ चौका हिर्काए ।
दीपेन्द्र अन्तिम ओभरको अन्तिम बलमा रन आउट भई प्याभेलियन फर्किएका थिए । जारी लिग–२ शृंखलामा उनले लगातार दुई अर्धशतकपछि शतक बनाएका हुन् ।
जारी लिग–२ शृंखलामा यसअघि उनले यूएईविरुद्ध ९० बलमा ७५ रन बनाएका थिए । त्यसलगत्तै ओमानविरुद्धको खेलमा पनि उनले ६२ बलमा ६० रन बनाएका थिए ।
७१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका २६ वर्षीय दीपेन्द्रले यो ढाँचाको क्रिकेटमा बनाएको यो दोस्रो शतक हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सात अर्धशतक पनि बनाएका छन् ।
ओपनर विनोद भण्डारीले पनि अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान विनोदले ७९ बलमा सात चौकाको मद्दतले ५६ रन बनाए ।
लामो समयपछि टोलीमा फर्किएका ३६ वर्षीय विनोदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो ।
सातौँ नम्बरमा क्रिज सम्हाल्न आएका गुलसन झाले पनि टोलीको खातामा ४४ रन थपे । उनले केवल ३८ बलको सामना गरी दुई छक्का र चार चौका प्रहार गरे ।
ओपनर अर्जुन कुमाल भने ११ रन बनाउँदै प्याभेलियन फर्किए । २० वर्षीय अर्जुनको अन्तर्राष्ट्रिय क्रिकेटमा यो 'डेब्यू' खेल हो । उनले २२ बलमा दुई चौका पनि प्रहार गरे ।
भीम सार्की खाता खोल्नुअघि नै प्याभेलियन फर्किए भने कप्तान रोहित पौडेलले टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा तीन चौका हिर्काए ।
आरिफ शेख १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । नेपालले अतिरिक्त रूपमा पनि २८ रन पाएको थियो ।
यूएईका बलर जुनैद सिद्दकी र अजय कुमारले दुई–दुई विकेट लिए । हैदर अली र खुजाइमा तनवीरले पनि एक/एक विकेट हात पारेका थिए ।
आठ राष्ट्र सहभागी लिग–२ तालिकामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो, २८ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो र २६ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक हात पारेको नामिबिया पाँचौँ स्थानमा आसीन छन् ।
यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौँ, २३ खेलबाट १६ अंक हात पारेको नेपाल सातौँ र २३ खेलबाट १२ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।