
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।
चेन्नई र मुम्बईबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा १९:४५ बजे शुरू हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४४औँ खेल हो ।
यो खेलमा पनि चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले खेल्ने सम्भावना निकै कम देखिन्छ । उनले स्वास्थ्य समस्याका कारण जारी सिजनको आईपीएलमा एउटा पनि खेल खेलेका छैनन् ।
यो सिजनको आईपीएलमा चेन्नई र मुम्बई दुबैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न यी दुवै टोलीका लागि जित अत्यावश्यक देखिन्छ ।
जारी सिजनको आईपीएलमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अप्रिल २३ तारिखमा खेलिएको पहिलो खेलमा चेन्नईले मुम्बईलाई एक सय तीन रनले हराएको थियो ।
अंक तालिकाको अवस्था
अंक तालिकामा मुम्बईभन्दा चेन्नईको अवस्था केही राम्रो देखिन्छ । मुम्बई इन्डियन्सले हालसम्म अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ ।
चेन्नईको अवस्था पनि खासै गतिलो भने छैन । हालसम्म आठ खेल खेलेको चेन्नई ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।
चेन्नईले हालसम्म तीन जित र पाँच हारको नतिजा निकालेको छ । मुम्बई भने आठ खेलबाट केवल चार अंक जोड्दै नवौँ स्थानमा छ । मुम्बईले दुई जित र ६ हारको नतिजा निकालेको छ ।
त्यसैले शनिबार हुने खेलमा दुबै टोलीसँग जितको विकल्प रहने छैन । यो खेलमा पराजित हुने टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना प्राविधिक रूपमा मात्र बाँकी रहने छ ।
चेन्नई र मुम्बईबीच आपसी भिडन्त
आईपीएलमा हालसम्म चेन्नई र मुम्बईबीच कुल ४० खेल खेलिएको छ । त्यसमा चेन्नईभन्दा मुम्बई केही अगाडि देखिन्छ ।
हालसम्म मुम्बई इन्डियन्सले २१ खेलमा चेन्नईलाई हराएको छ । चेन्नईले भने मुम्बईलाई १९ खेलमा पराजयको स्वाद चखाएको छ ।
अघिल्लो सिजन यी दुई टोलीबीच दुई भिडन्त भएको थियो । त्यसमध्ये एक खेलमा चेन्नई र एक खेलमा मुम्बई विजयी भएका थिए ।
एमए चिदम्बरम स्टेडियममा भने हालसम्म यी दुई टोलीबीच नौ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा मुम्बई र चार खेलमा चेन्नई विजयी भएका छन् ।
मुम्बईविरुद्ध सन्जु सामसनको शतक
यो सिजन खेलिएको मुम्बईविरुद्धको पहिलो खेलमा चेन्नईका सन्जु सामसनले शतक बनाएका थिए । उनले केवल ५४ बलमा अविजित एक सय एक रन बनाएका थिए ।
चेन्नईका सामसन यो सिजन लयमा छन् । उनले जारी आईपीएलको आठ पालीमा दुई शतकको मद्दतले तीन सयभन्दा बढी रन बनाइसकेका छन् ।
यो सिजन उनी चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । बलिङतर्फ भने चेन्नईका जामी ओभरटन र अंशुल कम्बोजले गतिलो प्रदर्शन गर्दै आएका छन् ।
ओभरटनले दिल्ली क्यापिटल्सविरुद्ध केवल १८ रन खर्चिएर चार विकेट लिएका थिए । कम्बोज यो सिजन चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले १४ विकेट लिएका छन् ।
मुम्बईका लागि हरेक खेल ‘नकआउट’ जस्तै
लगातार हारका कारण मुम्बई इन्डियन्सका लागि अबको हरेक खेल ‘नकआउट’ जस्तै हुनेछ । अबको एउटा हारले पनि मुम्बईलाई उपाधि होडबाट बाहिर पुर्याउने छ ।
मुम्बईका लागि हालसम्म ओपनर रायन रिकेल्टनले सबैभन्दा बढी रन बनाएका छन् । उनले ६ खेलमा कुल दुई सय ६० रन जोडेका छन् ।
रिकेल्टनले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शतक पनि बनाएका थिए । उक्त खेलमा उनले केवल ५५ बलमा अविजित एक सय २३ रन बनाएका थिए ।
मुम्बई इन्डियन्सका लागि सबैभन्दा बढी विकेट लिने बलर भने अल्लाह गजनफर हुन् । उनले हालसम्म ६ खेलमा कुल १० विकेट लिएका छन् ।
स्पिनरलाई साथ दिने पिच
मुम्बई र चेन्नईबीच शनिबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको चरित्र खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको रहेको छ ।
खेल अगाडि बढ्दै जाँदा यो स्टेडियमको पिच थप मन्द बन्दै जान्छ । यस्तो स्थितिमा दोस्रो पालीमा ब्याटिङ गर्ने टोलीले थप समस्याको सामना गर्नुपर्ने हुन्छ ।
त्यसैले टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी रहन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९५ खेल खेलिएको छ ।
त्यसमध्ये ५३ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४२ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् ।
यो स्टेडियममा बनेको सबैभन्दा ठूलो स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर सन् २०१० को आईपीएलमा राजस्थान रोयल्सविरुद्ध चेन्नईले बनाएको थियो ।
छैन वर्षाको सम्भावना
मुम्बई र चेन्नईबीच खेल हुने दिन शनिबार चेन्नईमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चेन्नईमा शनिबार अत्यधिक गर्मी हुनेछ । खेल हुने दिन चेन्नईको तापक्रम २९ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहने बताइएको छ ।
सम्भावित टोली
चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), सन्जु सामसन, उर्विल पटेल, डेवाल्ड ब्रेविस, शिवम दुबे, कार्तिक शर्मा, जामी ओभरटन, अकिल हुसैन, नुर अहमद, अंशुल बम्बोज, गुरजपनित सिंह र सरफराज खान ।
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन, विल ज्याक्स, नमन धिर, सूर्यकुमार यादव, तिलक वर्मा, रोविन मिन्ज, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, अल्लाह गजनफर, अश्विनी कुमार र दानिस मलेवर ।