२५ जेठ २०८३, सोमबार
आईपीएलमा आज

‘गर या मर’को स्थितिमा रहेको मुम्बई उस्तै नियति भोगिरहेको चेन्नईसँग भिड्दै

बैशाख १९, २०८३
काठमाडौं
‘गर या मर’को स्थितिमा रहेको मुम्बई उस्तै नियति भोगिरहेको चेन्नईसँग भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

चेन्नई र मुम्बईबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा १९:४५ बजे शुरू हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४४औँ खेल हो ।

यो खेलमा पनि चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले खेल्ने सम्भावना निकै कम देखिन्छ । उनले स्वास्थ्य समस्याका कारण जारी सिजनको आईपीएलमा एउटा पनि खेल खेलेका छैनन् ।

यो सिजनको आईपीएलमा चेन्नई र मुम्बई दुबैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न यी दुवै टोलीका लागि जित अत्यावश्यक देखिन्छ ।

जारी सिजनको आईपीएलमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अप्रिल २३ तारिखमा खेलिएको पहिलो खेलमा चेन्नईले मुम्बईलाई एक सय तीन रनले हराएको थियो ।

अंक तालिकाको अवस्था

अंक तालिकामा मुम्बईभन्दा चेन्नईको अवस्था केही राम्रो देखिन्छ । मुम्बई इन्डियन्सले हालसम्म अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ ।

चेन्नईको अवस्था पनि खासै गतिलो भने छैन । हालसम्म आठ खेल खेलेको चेन्नई ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।

चेन्नईले हालसम्म तीन जित र पाँच हारको नतिजा निकालेको छ । मुम्बई भने आठ खेलबाट केवल चार अंक जोड्दै नवौँ स्थानमा छ । मुम्बईले दुई जित र ६ हारको नतिजा निकालेको छ ।

त्यसैले शनिबार हुने खेलमा दुबै टोलीसँग जितको विकल्प रहने छैन । यो खेलमा पराजित हुने टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना प्राविधिक रूपमा मात्र बाँकी रहने छ ।

चेन्नई र मुम्बईबीच आपसी भिडन्त

आईपीएलमा हालसम्म चेन्नई र मुम्बईबीच कुल ४० खेल खेलिएको छ । त्यसमा चेन्नईभन्दा मुम्बई केही अगाडि देखिन्छ ।

हालसम्म मुम्बई इन्डियन्सले २१ खेलमा चेन्नईलाई हराएको छ । चेन्नईले भने मुम्बईलाई १९ खेलमा पराजयको स्वाद चखाएको छ ।

अघिल्लो सिजन यी दुई टोलीबीच दुई भिडन्त भएको थियो । त्यसमध्ये एक खेलमा चेन्नई र एक खेलमा मुम्बई विजयी भएका थिए ।

एमए चिदम्बरम स्टेडियममा भने हालसम्म यी दुई टोलीबीच नौ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा मुम्बई र चार खेलमा चेन्नई विजयी भएका छन् ।

मुम्बईविरुद्ध सन्जु सामसनको शतक

यो सिजन खेलिएको मुम्बईविरुद्धको पहिलो खेलमा चेन्नईका सन्जु सामसनले शतक बनाएका थिए । उनले केवल ५४ बलमा अविजित एक सय एक रन बनाएका थिए ।

चेन्नईका सामसन यो सिजन लयमा छन् । उनले जारी आईपीएलको आठ पालीमा दुई शतकको मद्दतले तीन सयभन्दा बढी रन बनाइसकेका छन् ।

यो सिजन उनी चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । बलिङतर्फ भने चेन्नईका जामी ओभरटन र अंशुल कम्बोजले गतिलो प्रदर्शन गर्दै आएका छन् ।

ओभरटनले दिल्ली क्यापिटल्सविरुद्ध केवल १८ रन खर्चिएर चार विकेट लिएका थिए । कम्बोज यो सिजन चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले १४ विकेट लिएका छन् ।

मुम्बईका लागि हरेक खेल ‘नकआउट’ जस्तै

लगातार हारका कारण मुम्बई इन्डियन्सका लागि अबको हरेक खेल ‘नकआउट’ जस्तै हुनेछ । अबको एउटा हारले पनि मुम्बईलाई उपाधि होडबाट बाहिर पुर्‍याउने छ ।

मुम्बईका लागि हालसम्म ओपनर रायन रिकेल्टनले सबैभन्दा बढी रन बनाएका छन् । उनले ६ खेलमा कुल दुई सय ६० रन जोडेका छन् ।

रिकेल्टनले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शतक पनि बनाएका थिए । उक्त खेलमा उनले केवल ५५ बलमा अविजित एक सय २३ रन बनाएका थिए ।

मुम्बई इन्डियन्सका लागि सबैभन्दा बढी विकेट लिने बलर भने अल्लाह गजनफर हुन् । उनले हालसम्म ६ खेलमा कुल १० विकेट लिएका छन् ।

स्पिनरलाई साथ दिने पिच

मुम्बई र चेन्नईबीच शनिबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको चरित्र खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको रहेको छ ।

खेल अगाडि बढ्दै जाँदा यो स्टेडियमको पिच थप मन्द बन्दै जान्छ । यस्तो स्थितिमा दोस्रो पालीमा ब्याटिङ गर्ने टोलीले थप समस्याको सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी रहन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९५ खेल खेलिएको छ ।

त्यसमध्ये ५३ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४२ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् ।

यो स्टेडियममा बनेको सबैभन्दा ठूलो स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर सन् २०१० को आईपीएलमा राजस्थान रोयल्सविरुद्ध चेन्नईले बनाएको थियो ।

छैन वर्षाको सम्भावना

मुम्बई र चेन्नईबीच खेल हुने दिन शनिबार चेन्नईमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चेन्नईमा शनिबार अत्यधिक गर्मी हुनेछ । खेल हुने दिन चेन्नईको तापक्रम २९ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहने बताइएको छ ।

सम्भावित टोली

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), सन्जु सामसन, उर्विल पटेल, डेवाल्ड ब्रेविस, शिवम दुबे, कार्तिक शर्मा, जामी ओभरटन, अकिल हुसैन, नुर अहमद, अंशुल बम्बोज, गुरजपनित सिंह र सरफराज खान ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन, विल ज्याक्स, नमन धिर, सूर्यकुमार यादव, तिलक वर्मा, रोविन मिन्ज, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, अल्लाह गजनफर, अश्विनी कुमार र दानिस मलेवर ।

salt training

कमेन्ट गर्नुहोस्