०५ साउन २०८३, मंगलबार

बुटवलमा महिला फूटबल प्रतियोगिता हुँदै, पुरस्कार राशि साढे दुई लाख

बैशाख २१, २०८३
बुटवल
बुटवलमा महिला फूटबल प्रतियोगिता हुँदै, पुरस्कार राशि साढे दुई लाख

महिला फूटबलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा महिला फूटबल प्रतियोगिता हुने भएको छ ।

बुटवलका क्रियाशील बीस पचहत्तर युवा क्लबले यही वैशाख २६ गतेदेखि दोस्रो उपमेयर कप महिला फूटबल प्रतियोगिता गर्न लागेको हो ।

बुटवल उपमहानगरपालिका–७ स्थित सिद्देश्वरी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘हामीले गत वर्षदेखि महिला प्रतियोगिता गर्न थालेका छौं,’ अध्यक्ष थापाले भने, 'यस वर्षबाट पुरस्कार राशि पनि बढेको छ । उपाधि जित्ने टोलीले दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ ।’

जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ट्रिनिटी क्लब वालिङ (स्याङजा), पदमा स्पोर्ट्स क्लब (ओखलढुंगा), आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब, आयोजक बीस पचहत्तर युवा क्लब (रूपन्देही), कपिलवस्तु–११, संकटा क्लब र मकवानपुर फूटबल एकेडेमी हेटौंडा सहभागिता हुने छन् ।​

त्यसैगरी प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट फरवार्डले १० हजार, उत्कृष्ट गोलरक्षकले १० हजार, उत्कृष्ट डिफेन्सले १० हजार, उत्कृष्ट कोचले १० हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।

गत वर्ष ट्रिनिटी क्लब वालिङले उपाधि चुमेको थियो । प्रतियोगिता सम्पन्न गर्न झण्डै २८ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ ।

बुटवल–७ का वडा अध्यक्ष पदमराज गाहाले उपमहानगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनमा निरन्तर लागेको बताए । 

प्रतियोगिताले फूटबलको प्रबर्द्धनसँगै खेलकुदको विकासमा टेवा पुर्‍याउने अध्यक्ष गाहाले विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्