२५ जेठ २०८३, सोमबार

पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा

बैशाख २३, २०८३
काठमाडौं
पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यही वैशाख २१ गतेदेखि फोरजी सेवा शुभारम्भ भएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनका अनुसार टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहहरूलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभरा माताको दर्शन गर्न पुग्ने हजारौं श्रद्धालु भक्तजनहरूका साथै मन्दिर आसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्ने टेलिकमले जनाएको छ।

उच्च गतिको फोरजी डाटा सेवामार्फत् मन्दिर परिसरका तस्वीर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ ।

सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दाहरू अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् ।

यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्‍याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउनेछ ।

उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्था आइ पर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

त्यसैगरी सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटल व्यवसायी तथा व्यापारीहरूलाई क्यूआर कोडमार्फत् भुक्तानी लगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवर्द्धन गर्न सहज हुने टेलिकमको विश्वास छ ।

‘राष्ट्रको सञ्चार’को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्