२९ जेठ २०८३, शुक्रबार

स्कटल्यान्डपछि अमेरिकालाई आफ्नो सिकार बनायो नेपाल ‘ए’ टोलीले, ३ विकेटले विजयी

बैशाख २५, २०८३
काठमाडौं
स्कटल्यान्डपछि अमेरिकालाई आफ्नो सिकार बनायो नेपाल ‘ए’ टोलीले, ३ विकेटले विजयी

आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपाल ‘ए’ टोलीले दुवै खेलमा आफूभन्दा बलिया टोलीलाई हराएको हो । शुक्रबार मूलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले अमेरिकालाई तीन विकेटले हरायो ।

यसअघि, बिहीबार खेलिएको खेलमा नेपालले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो । नेपालको सिनियर टोलीले अर्को साता स्कटल्यान्ड र अमेरिकासँग घरेलु मैदानमा लिग–२ शृंखला खेल्दैछ ।

शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ले ४९.१ ओभरमा सात विकेट गुमाएर जित हासिल गर्‍यो ।

नेपाली टोलीका बलर मायान यादवले उत्कृष्ट अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ८० बलमा दुई छक्का र चार चौकाको मद्दतले ७२ रन बनाए ।

सन्दीप जोराले पनि टोलीको खातामा ३६ रन थपे । उनले ५२ बलमा चार चौका हिर्काए । कुशल मल्लले ४९ बलमा एक छक्काको मद्दतले ३३ रन जोडे ।

ओपनर अनिल कुमार साहले २७ र तृतराज दासले २३ रन बटुले । देव खनाल १७ रन बनाउँदै आउट भए । बसिर अहमदले १८ र पवन सर्राफले अविजित २४ रन जोडे ।

उनले केवल १५ बलमा दुई छक्का र एक चौका हिर्काए । दीपक डुम्रे भने दुई रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा ११ रन पायो ।

पवन सर्राफले ४८औँ ओभरमा लगातार दुई छक्का र एक चौका हिर्काएका थिए । त्यो ओभरमा नेपाल त्यो ओभरमा २१ रन लियो । अमेरिकाका बलर मिलिन्द कुमारले दुई विकेट लिए ।

त्यसअघि, अमेरिकाका लागि ओपनर समित पटेलले शतकीय पाली खेलेका थिए । उनले एक सय १६ रन बनाए । यसक्रममा उनले एक सय आठ बलमा पाँच छक्का र १० चौका प्रहार गरे ।

अमेरिकाका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान जसदीप सिंहले अविजित ३३ र हरमित सिंहले अविजित २५ रन बनाए ।

नेपाली टोलीका बलर पवन सर्राफले दुई विकेट लिए । विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले पनि एक/एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्