
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आंशिक सफाइ दिएको थियो । गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ ।
विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिए ।