
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा लिई जहाजलाई पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको छ।
टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टिके–७२६ नम्बरको जहाज सोमबार बिहान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो।
अवतरण गर्दा जहाजको टायरमा अचानक आगो लागेपछि सुरक्षा सावधानीका लागि धावनमार्ग (रनवे) केही समय पूर्ण रूपमा बन्द गरिएको थियो।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार टायरमा आगो सल्किएलगत्तै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो।
विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेका छन्। विमानको प्राविधिक परीक्षण र रनवे जाँचपछि उडान तथा अवतरण सेवा पुनः सुचारु गरिएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।




