०१ साउन २०८३, शुक्रबार

नेपाल ‘ए’ सँग सात रनले स्तब्ध बन्यो अमेरिका

बैशाख २८, २०८३
काठमाडौं
नेपाल ‘ए’ सँग सात रनले स्तब्ध बन्यो अमेरिका

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाको तयारीका क्रममा सोमबार खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई सात रनले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय ५७ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले उत्कृष्ट अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ११ रन बनाए ।

यसक्रममा उनले एक सय १५ बलको सामना गरी चार छक्का र नौवटा चौका पनि हिर्काए । बसिर अहमदले ३८ र मायान यादवले २४ रन जोडे । अमेरिकाका सौरव नेत्रवाल्करले तीन विकेट लिए ।

अमेरिकालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले ७.१ ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए ।

बसिर अहमदले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा ४४ रन खर्चिए । पवन सर्राफ र साहब आलमले पनि एक/एक विकेट लिए ।

अमेरिकाका लागि सेहन जयसूर्याले सर्वाधिक ७७ रन बनाए । शुभम रन्जनेले पनि टोलीको खातामा ४७ रन थपे । नेपाल ‘ए’ टोलीले अभ्यास खेलमा यसअघि पनि अमेरिका र स्कटल्यान्डलाई हराएको थियो ।

लिग–२ शृंखला मंगलबारदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उक्त शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्