१२ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

बालेन सरकारलाई अदालतको झट्कादेखि  एसईईको नतिजामा सुधारसम्म

बैशाख २९, २०८३
काठमाडौं
बालेन सरकारलाई अदालतको झट्कादेखि  एसईईको नतिजामा सुधारसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोमबार अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

सरकारले आर्थिक विकास, पूर्वाधार प्रवद्र्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा सार्वजनिक गरेको वाचापत्रमा समावेश गरिएका विषयवस्तुलाई समेत यसमा समावेश गरिएका छन् ।
००००
कर्मचारी ट्रेड युनियन खारेज गर्ने बालेन सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

संवैधानिक इजलासमा ५ मध्ये ३ न्यायाधीशको बहुमतले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक राय पेस गरेका छन् ।

साथै, इजलासले आगामी जेठ ६ गते दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि गरेको छ ।
००००
सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आठ विद्यार्थी संगठनका तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार यस्तो आदेश गरेको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि गरेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।
००००
प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । सरकारले हालै विभिन्न अध्यादेश ल्याएको थियो ।
००००
नेपाली कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठक जारी रहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ । 

प्रवक्ता देवराज चालिसेले सोमबार एक विज्ञप्ति जारी गर्दै यसलाई संसदीय मर्यादा र संवैधानिक परम्पराविपरीतको कार्य भन्दै टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै हिँड्नुले अप्रिय सन्देश दिएको र यसले संस्थागत गरिमामा चोट र्पुयाएको कांग्रेसको ठहर छ। यस्तै एमालेले पनि बालेनको शैलीको आलोचना गरेको छ । यस विषयमा बाहिर सामाजिक सञ्जालमा समेत चर्को टिकाटिप्पणी  भएको छ । 
००००
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी गराएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष देशभरबाट कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी दिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले विभिन्न ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी फेल भएका छन् । अघिल्लो वर्षको तुलनामा एसईईको नतिजामा झण्डै ४ प्रतिशतले सुधार भएको हो । 
००००
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन्। 

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार ऐनको व्यवस्थाबमोजिम प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले नै अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ। सोही अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले मन्त्री चौधरीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
००००
चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज चालु आवको नौ महिनाको विवरण सार्वजनिक गरेको थियो । सो विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो ।
००००
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ।

संघको सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ निर्णयअनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ५०० कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य रु ४६५ थियो।
त्यसैगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४८५ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य रु ४५० रहेको थियो।

मिडियम अण्डाको मूल्य रु ४३५ कायम गरिएको संघले जनाएको छ। यसअघि मिडियम अण्डा रु ४०० मा कारोबार हुँदै आएको थियो।

यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी रु २५०० निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य रु २३०० रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिए । 
००००
नेपाली कांग्रेसले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेको छ ।

सभापति गगन थापाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
००००
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाको तयारीका क्रममा सोमबार खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई सात रनले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६४ रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्