२८ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय समिति विस्तारप्रति पूर्ण खड्का असन्तुष्ट, एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी

बैशाख २९, २०८३
काठमाडौं
कांग्रेस केन्द्रीय समिति विस्तारप्रति पूर्ण खड्का असन्तुष्ट, एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । उनले यो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी समेत गरेका छन् । 

खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै वैशाख २८ गते सोमबार गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गरेका छन् । 

उनले पार्टीभित्र एकता कमजोर हुने गरी निर्णय भएको संकेत गर्दै नेतृत्वलाई पुनः एकताका लागि अघि बढ्न आग्रह गरेका छन् ।

उनले केही साताअघि सभापति गगन थापा र त्यसपछि थापा तथा उपसभापति विश्वप्रकाश शर्मासँग भएको छलफलमा देशको राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यतामाथि बढ्दो चुनौती र कांग्रेसको कमजोर बन्दै गएको भूमिकाबारे आफ्नो धारणा राखेको उल्लेख गरेका छन् । 

‘समय कम छ, अरु सबै कुरा छोडेर पार्टीलाई सम्पूर्ण रूपमा एक बनाउने अभियानमा आजैदेखि लाग्नुहोस् भनेर (थापा र शर्मालाई)अनुरोध गरेको थिएँ’, खड्काले लेखेका छन्।

वर्तमान परिस्थिति कांग्रेसका लागि स्थापनाकालदेखि अहिलेसम्मकै अप्ठ्यारो घडी भएको उनको टिप्पणी छ । खड्काले पार्टीको बृहत् र सम्पूर्ण एकताविना कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका छन् । 

उनले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै अन्य नेताहरूको भूमिका सहयोगी मात्र हुने बताएका छन् ।

खड्काले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको स्मरण गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन् । उनले फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले कांग्रेसलाई झस्काउने मात्र नभई ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै अब नयाँ सोच, साझा दृष्टिकोण र भावनात्मक एकताको आवश्यकता रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्