
भारत सरकारको सहयोगमा अछाममा बन्ने विद्यालय भवनको शिलान्यास गरिएको छ ।
मेल्लेख गाउँपालिका–४ मा बन्ने श्री बासुकी माध्यमिक विद्यालय भवनको मंगलबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिं साउदले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब ३.८ करोड नेपाली रुपैयाँमा विद्यालय भवन निर्माण हुने भारतीय दूतावासले जनाएको छ । उक्त रकम उच्च प्रभाव सामुदायिक विकास परियोजना मेल्लेख गाउँपालिका, अछाममार्फत् कार्यान्वयन गरिनेछ ।

शिलान्यास कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष साउद तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए ।
नयाँ संरचनाले मेल्लेख गाउँपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उनीहरूको विश्वास थियो ।
नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।

