
मध्यपूर्व युद्ध विस्तार भइरहेका बेला साउदी अरेबियाले इरानमाथि गोप्य सैन्य आक्रमण गरेको दाबी गरिएको छ ।
घटनाबारे जानकारी राख्ने दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले साउदी अरेबियाले इरानको भूमिमा प्रत्यक्ष सैन्य कारबाही गरेको जनाएको हो ।
रिपोर्टअनुसार साउदी अरेबियाले आफ्नै भूमिमा भएका आक्रमणको प्रतिशोधस्वरूप इरानमाथि ती आक्रमण गरेको हो । यसअघि सार्वजनिक नभएको उक्त घटनाले साउदी अरेबियाले आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी इरानविरुद्ध प्रत्यक्ष सैन्य कदम चालेको पहिलो घटना मानिएको छ ।
पश्चिमी अधिकारीहरूका अनुसार साउदी वायुसेनाले मार्चको अन्तिम सातातिर ती आक्रमण गरेको थियो । एक अधिकारीले ती आक्रमणलाई साउदी अरेबियामाथि भएको आक्रमणको बदलास्वरूप गरिएको प्रतिआक्रमण भनेका छन् । यद्यपि, कुन–कुन स्थानलाई निशाना बनाइएको थियो भन्ने पुष्टि हुन सकेको छैन ।
साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यसबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि साउदी अरेबिया तनाव घटाउने पक्षमा रहेको बताएका छन् । इरानको विदेश मन्त्रालयले भने टिप्पणी गर्न अस्वीकार गरेको छ ।
अमेरिकासँग घनिष्ठ सैन्य सम्बन्ध रहेको साउदी अरेबियाले लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकी सैन्य संरक्षणमा भर पर्दै आएको थियो । तर १० सातासम्म चलेको युद्धका क्रममा अमेरिकी सुरक्षा घेरासमेत कमजोर देखिएपछि साउदी अरेबिया प्रत्यक्ष रूपमा सैन्य प्रतिक्रिया दिन बाध्य भएको विश्लेषण गरिएको छ ।
रिपोर्टअनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण शुरू गरेपछि युद्धले व्यापक क्षेत्रीय रूप लिएको थियो । त्यसयता इरानले खाडी सहयोग परिषद्का सबै ६ राष्ट्रमाथि मिसाइल र ड्रोन आक्रमण गरेको बताइएको छ ।
ती आक्रमण अमेरिकी सैन्य अड्डा मात्र नभई विमानस्थल, तेल पूर्वाधार र सर्वसाधारणका संरचनामाथिसमेत केन्द्रित थिए ।
इरानले होर्मुज जलडमरु बन्द गरेपछि विश्व व्यापार र ऊर्जा आपूर्तिसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि इरानमाथि सैन्य आक्रमण गरेको ‘वाल स्ट्रिट जर्नल’ले जनाएको छ ।
रिपोर्टअनुसार इरानी आक्रमणबाट प्रभावित खाडी राष्ट्रहरूले प्रतिकार शुरू गरेसँगै युद्धको वास्तविक स्वरूप बाहिर आउन थालेको हो ।
यद्यपि, साउदी अरेबिया र यूएईको रणनीति भने फरक रहेको बताइएको छ । यूएईले इरानमाथि कडा र आक्रामक नीति अपनाएको छ भने साउदी अरेबियाले तनाव नबढाउने प्रयासस्वरूप इरानसँग निरन्तर संवाद कायम राखेको थियो ।
पश्चिमी तथा इरानी अधिकारीहरूका अनुसार साउदी अरेबियाले इरानलाई आक्रमणबारे जानकारी दिएको थियो । त्यसपछि दुई देशबीच गहन कूटनीतिक संवाद भएको र थप आक्रमण हुन सक्ने चेतावनीपछि तनाव घटाउने समझदारी बनेको थियो ।
इन्टरनेशनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली वाएजले दुवै देशले अनियन्त्रित युद्धले अस्वीकार्य मूल्य चुकाउनुपर्ने यथार्थलाई व्यावहारिक रूपमा स्वीकार गरेको बताएका छन् ।
यो अनौपचारिक तनाव न्यूनीकरण अमेरिका र इरानबीच अप्रिल ७ मा युद्धविराम सहमति हुनुभन्दा एक साताअघि लागू भएको बताइएको छ ।
साउदी अरेबिया र इरान लामो समयदेखि मध्यपूर्वका प्रमुख सुन्नी र शिया शक्ति राष्ट्रका रूपमा प्रतिस्पर्धामा छन् । उनीहरूले क्षेत्रीय द्वन्द्वहरूमा फरक–फरक समूहलाई समर्थन गर्दै आएका छन् । तर सन् २०२३ मा चीनको मध्यस्थतामा दुवै देशबीच सम्बन्ध पुनःस्थापना भएको थियो ।
साउदी स्वामित्वको ‘अरब न्युज’मा प्रकाशित एक लेखमा पूर्व गुप्तचर प्रमुख प्रिन्स तुर्की अल–फैसलले इरानले साउदीलाई विनाशको भट्टीमा तान्न खोज्दा पनि नेतृत्वले आफ्ना नागरिकको ज्यान र सम्पत्ति जोगाउन धैर्य रोजेको बताएका छन् ।
मार्च १९ मा रियादमा आयोजित पत्रकार सम्मेलनमा साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले आवश्यक ठानिए सैन्य कदम चाल्ने अधिकार सुरक्षित रहेको बताएका थिए । त्यसको तीन दिनपछि साउदी अरेबियाले इरानका सैनिक सहचारीसहित चार कूटनीतिक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको थियो ।
पश्चिमी स्रोतहरूका अनुसार मार्च अन्त्यतिर साउदी अरेबियाले यूएईजस्तै आक्रामक नीति अपनाउन सक्ने चेतावनी दिएपछि इरानले प्रत्यक्ष आक्रमण घटाएको थियो । मार्च २५ देखि ३१ सम्म साउदी अरेबियामाथि १०५ भन्दा बढी ड्रोन तथा मिसाइल आक्रमण भएकोमा अप्रिल १ देखि ६ सम्म त्यो संख्या घटेर २५ मा झरेको थियो ।
यद्यपि, अप्रिल ७ र ८ मा फेरि ३१ ड्रोन र १६ मिसाइल साउदी अरेबियातर्फ प्रहार गरिएको साउदी रक्षा मन्त्रालयले जनाएको छ । त्यसपछि साउदी अरेबियाले इरान र इराकमाथि पुनः प्रतिआक्रमणको विकल्पबारे विचार गरेको बताइएको छ ।
त्यही समयमा पाकिस्तानले साउदी अरेबियालाई आश्वस्त पार्न लडाकु विमान परिचालन गरेको रिपोर्टमा उल्लेख छ ।