०५ साउन २०८३, मंगलबार
खाडी राष्ट्रको प्रतिकार शुरू !

मध्यपूर्व युद्ध चर्किँदा साउदीले इरानमाथि गोप्य आक्रमण गरेको दाबी

बैशाख ३०, २०८३
काठमाडौं
मध्यपूर्व युद्ध चर्किँदा साउदीले इरानमाथि गोप्य आक्रमण गरेको दाबी

मध्यपूर्व युद्ध विस्तार भइरहेका बेला साउदी अरेबियाले इरानमाथि गोप्य सैन्य आक्रमण गरेको दाबी गरिएको छ । 

घटनाबारे जानकारी राख्ने दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले साउदी अरेबियाले इरानको भूमिमा प्रत्यक्ष सैन्य कारबाही गरेको जनाएको हो ।

रिपोर्टअनुसार साउदी अरेबियाले आफ्नै भूमिमा भएका आक्रमणको प्रतिशोधस्वरूप इरानमाथि ती आक्रमण गरेको हो । यसअघि सार्वजनिक नभएको उक्त घटनाले साउदी अरेबियाले आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी इरानविरुद्ध प्रत्यक्ष सैन्य कदम चालेको पहिलो घटना मानिएको छ ।

पश्चिमी अधिकारीहरूका अनुसार साउदी वायुसेनाले मार्चको अन्तिम सातातिर ती आक्रमण गरेको थियो । एक अधिकारीले ती आक्रमणलाई साउदी अरेबियामाथि भएको आक्रमणको बदलास्वरूप गरिएको प्रतिआक्रमण भनेका छन् । यद्यपि, कुन–कुन स्थानलाई निशाना बनाइएको थियो भन्ने पुष्टि हुन सकेको छैन ।

साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यसबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि साउदी अरेबिया तनाव घटाउने पक्षमा रहेको बताएका छन् । इरानको विदेश मन्त्रालयले भने टिप्पणी गर्न अस्वीकार गरेको छ ।

अमेरिकासँग घनिष्ठ सैन्य सम्बन्ध रहेको साउदी अरेबियाले लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकी सैन्य संरक्षणमा भर पर्दै आएको थियो । तर १० सातासम्म चलेको युद्धका क्रममा अमेरिकी सुरक्षा घेरासमेत कमजोर देखिएपछि साउदी अरेबिया प्रत्यक्ष रूपमा सैन्य प्रतिक्रिया दिन बाध्य भएको विश्लेषण गरिएको छ ।

रिपोर्टअनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण शुरू गरेपछि युद्धले व्यापक क्षेत्रीय रूप लिएको थियो । त्यसयता इरानले खाडी सहयोग परिषद्का सबै ६ राष्ट्रमाथि मिसाइल र ड्रोन आक्रमण गरेको बताइएको छ । 

ती आक्रमण अमेरिकी सैन्य अड्डा मात्र नभई विमानस्थल, तेल पूर्वाधार र सर्वसाधारणका संरचनामाथिसमेत केन्द्रित थिए ।

इरानले होर्मुज जलडमरु बन्द गरेपछि विश्व व्यापार र ऊर्जा आपूर्तिसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि इरानमाथि सैन्य आक्रमण गरेको ‘वाल स्ट्रिट जर्नल’ले जनाएको छ । 

रिपोर्टअनुसार इरानी आक्रमणबाट प्रभावित खाडी राष्ट्रहरूले प्रतिकार शुरू गरेसँगै युद्धको वास्तविक स्वरूप बाहिर आउन थालेको हो ।

यद्यपि, साउदी अरेबिया र यूएईको रणनीति भने फरक रहेको बताइएको छ । यूएईले इरानमाथि कडा र आक्रामक नीति अपनाएको छ भने साउदी अरेबियाले तनाव नबढाउने प्रयासस्वरूप इरानसँग निरन्तर संवाद कायम राखेको थियो ।

पश्चिमी तथा इरानी अधिकारीहरूका अनुसार साउदी अरेबियाले इरानलाई आक्रमणबारे जानकारी दिएको थियो । त्यसपछि दुई देशबीच गहन कूटनीतिक संवाद भएको र थप आक्रमण हुन सक्ने चेतावनीपछि तनाव घटाउने समझदारी बनेको थियो ।

इन्टरनेशनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली वाएजले दुवै देशले अनियन्त्रित युद्धले अस्वीकार्य मूल्य चुकाउनुपर्ने यथार्थलाई व्यावहारिक रूपमा स्वीकार गरेको बताएका छन् ।

यो अनौपचारिक तनाव न्यूनीकरण अमेरिका र इरानबीच अप्रिल ७ मा युद्धविराम सहमति हुनुभन्दा एक साताअघि लागू भएको बताइएको छ ।

साउदी अरेबिया र इरान लामो समयदेखि मध्यपूर्वका प्रमुख सुन्नी र शिया शक्ति राष्ट्रका रूपमा प्रतिस्पर्धामा छन् । उनीहरूले क्षेत्रीय द्वन्द्वहरूमा फरक–फरक समूहलाई समर्थन गर्दै आएका छन् । तर सन् २०२३ मा चीनको मध्यस्थतामा दुवै देशबीच सम्बन्ध पुनःस्थापना भएको थियो ।

साउदी स्वामित्वको ‘अरब न्युज’मा प्रकाशित एक लेखमा पूर्व गुप्तचर प्रमुख प्रिन्स तुर्की अल–फैसलले इरानले साउदीलाई विनाशको भट्टीमा तान्न खोज्दा पनि नेतृत्वले आफ्ना नागरिकको ज्यान र सम्पत्ति जोगाउन धैर्य रोजेको बताएका छन् ।

मार्च १९ मा रियादमा आयोजित पत्रकार सम्मेलनमा साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले आवश्यक ठानिए सैन्य कदम चाल्ने अधिकार सुरक्षित रहेको बताएका थिए । त्यसको तीन दिनपछि साउदी अरेबियाले इरानका सैनिक सहचारीसहित चार कूटनीतिक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको थियो ।

पश्चिमी स्रोतहरूका अनुसार मार्च अन्त्यतिर साउदी अरेबियाले यूएईजस्तै आक्रामक नीति अपनाउन सक्ने चेतावनी दिएपछि इरानले प्रत्यक्ष आक्रमण घटाएको थियो । मार्च २५ देखि ३१ सम्म साउदी अरेबियामाथि १०५ भन्दा बढी ड्रोन तथा मिसाइल आक्रमण भएकोमा अप्रिल १ देखि ६ सम्म त्यो संख्या घटेर २५ मा झरेको थियो ।

यद्यपि, अप्रिल ७ र ८ मा फेरि ३१ ड्रोन र १६ मिसाइल साउदी अरेबियातर्फ प्रहार गरिएको साउदी रक्षा मन्त्रालयले जनाएको छ । त्यसपछि साउदी अरेबियाले इरान र इराकमाथि पुनः प्रतिआक्रमणको विकल्पबारे विचार गरेको बताइएको छ ।

त्यही समयमा पाकिस्तानले साउदी अरेबियालाई आश्वस्त पार्न लडाकु विमान परिचालन गरेको रिपोर्टमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्