
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङको 'ग्रेट हल अफ द पिपल'मा बिहीबार बिहान उनीहरूबीच उच्चस्तरीय शिखर वार्ता शुरू भएको हो ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले एकअर्कालाई 'मित्र' र 'महान् नेता' सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरू गर्ने संकेत दिएको सीएनएनले जनाएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पलाई बेइजिङमा रातो कार्पेट, तोपको सलामी र झण्डा हल्लाउँदै गरेका बालबालिकाहरूको समूहले भव्य स्वागत गरेका थिए । चीनले ट्रम्पको रुची र 'पेजेन्ट्री'प्रतिको लगावलाई ध्यानमा राख्दै हरेक दृश्यलाई सावधानीपूर्वक कोरियोग्राफी गरेको थियो । तियानमेन स्क्वायरमा गुन्जिएको तोपको आवाज र सैन्य ब्यान्डको धुनबीच दुवै नेताहरूले सैनिक टोलीको निरीक्षण गरे।
यसलाई देखेर प्रसन्न भएका ट्रम्पले टिप्पणी गरे, अद्भूत! उनले अगाडि थपे, 'म ती बालबालिकाहरूबाट विशेष प्रभावित भएँ। तिनीहरू खुसी र सुन्दर थिए। ती बालबालिकाहरूले धेरै कुराको प्रतिनिधित्व गर्छन्।'
बैठकको शुरूमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी अनिश्चितता र ऐतिहासिक मोडको चर्चा गरे। उनले 'थुसिडाइड्स ट्र्याप' (उदीयमान शक्तिले स्थापित शक्तिलाई चुनौती दिँदा हुने द्वन्द्वको जोखिम) को सन्दर्भ निकाल्दै सहकार्यमा जोड दिँदै सीले भने, 'के चीन र अमेरिका 'थुसिडाइड्स ट्र्याप'लाई पार गरेर प्रमुख राष्ट्रहरूबीचको सम्बन्धको नयाँ नमुना स्थापना गर्न सक्छन् ? के हामी विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वमा थप स्थिरता ल्याउन हात मिलाउन सक्छौं ? यी इतिहास र विश्वले सोधेका प्रश्नहरू हुन्, जसको जवाफ हामी दुई नेताले मिलेर लेख्नुपर्नेछ।'
सीएनएनका अनुसार उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै थपे, 'मैले सधैं विश्वास गरेको छु कि चीन र अमेरिबीचको साझा हित हाम्रा मतभेदहरूभन्दा ठूला छन्। जब दुई पक्षले सहकार्य गर्छन्, दुवैलाई फाइदा हुन्छ; जब लड्छन्, दुवैले दुःख पाउँछन्। हामीले प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।'
राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई 'महान् नेता' भन्दै प्रशंसा गरे। उनले आफूसँगै विश्वका शीर्ष ३० व्यवसायीहरू (जसमा टेस्लाका एलन मस्क, एनभिडियाका जेन्सन हुआङ र एप्पलका टिम कुक समावेश थिए) लाई चीन ल्याएको जानकारी दिए। ट्रम्पले भने, 'तपाईं एक महान् नेता हुनुहुन्छ। कहिलेकाहीँ मानिसहरूले मैले यसो भनेको मन पराउँदैनन्, तर म तैपनि भन्छु किनभने यो सत्य हो। हामीसँग अद्भुत मानिसहरू छन् र तिनीहरू यहाँ तपाईं र चीनप्रति 'सम्मान व्यक्त गर्न' र व्यापार विस्तार गर्न आएका हुन्।'
सम्बन्धको प्रगाढता दर्शाउँदै उनले थपे, 'तपाईंको साथी हुनु मेरो लागि सम्मानको कुरा हो। अमेरिका र चीन बीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुन गइरहेको छ।'
सी जिनपिङले सन् २०२६ लाई चीन-अमेरिका सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने एउटा 'ऐतिहासिक कोसेढुङ्गा' बनाउने इच्छा व्यक्त गरेका छन् । दुवै नेताहरूले वार्ता अघि एकअर्काको पाखुरामा सुम्सुम्याउँदै न्यानो सम्बन्धको संकेत दिएका थिए, तर व्यापार र ताइवानजस्ता जटिल मुद्दाहरूमा कस्तो सहमति हुन्छ भन्ने कुरा भने बैठकको अन्तिम निष्कर्षले नै देखाउनेछ ।