
मध्यपूर्वमा जारी संकट र त्यसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशको महत्त्वपूर्ण विदेश भ्रमण शुरू गरेका छन्। भारतको विदेश मन्त्रालयका अनुसार उनी संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै युरोपका चार देशहरूको भ्रमणमा निस्केका हुन् ।
प्रधानमन्त्री मोदी मे १५ मा यूएई पुग्नेछन्। त्यहाँ उनले यूएईका राष्ट्रपति मोहम्मद बिन जायेद अल नाहयानसँग उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
वार्तामा ऊर्जा सहकार्य, व्यापार, लगानी तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू मुख्य एजेन्डा रहने बताइएको छ।
यूएई भ्रमणपछि प्रधानमन्त्री मोदी मे १५ देखि १७ सम्म नेदरल्यान्ड्स जानेछन् । त्यहाँ उनले प्रधानमन्त्री रोब जेत्तेनसँग भेटवार्ता गर्नेछन् र राजा विलेम-अलेक्जान्डर तथा रानी म्याक्सिमासँग समेत भेट गर्ने कार्यक्रम छ । छलफलमा सेमिकन्डक्टर, हरित हाइड्रोजन, नवप्रवर्तन, रक्षा तथा जल व्यवस्थापन जस्ता विषयहरू समेटिने छन्।
त्यसपछि उनी मे १७–१८ मा स्विडेन पुग्नेछन्। त्यहाँ प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग द्विपक्षीय वार्ता हुनेछ। साथै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनसहित युरोपेली उद्योग मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
छलफल आर्टिफिसियल इन्टेलिजेन्स, उदीयमान प्रविधि, हरित रूपान्तरण र आपूर्ति शृंखला सुदृढीकरणमा केन्द्रित हुने बताइएको छ।
मे १९ मा नर्वेमा आयोजना हुने तेस्रो भारत–नर्डिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् । त्यहाँ डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड र स्विडेनका नेताहरूको पनि सहभागिता रहनेछ। सम्मेलनपछि उनले नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता गर्नेछन्।