२६ जेठ २०८३, मंगलबार

जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु, दुई गम्भीर बिरामी

जेठ १, २०८३
चितवन
जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु, दुई गम्भीर बिरामी

जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु भएको छ । 

इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । 

उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् ।

च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तीनै जना एकै परिवारका सदस्य रहेका प्रहरीले जनाएको छ । 

सजन हात्तीबाङ स्कूलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए । 

शुक्रबार बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए । त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।

‘हात्तीबाङ स्कूल नजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भरतपुर अस्पताल ल्याएको छु, च्याउ खाँदा एक जनाको निधन भइसकेकाले दुई जनालाई बचाउन अस्पताल पुर्‍याउन सफल भएका छौं, उनीहरूको उपचार भइरहेको छ’, प्रधानाध्यापक मगरले भने ।

बिरामी परेकामध्ये अहिले १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचारमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा. प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए । 

मंगलबार बुबा श्यामबहादुर र आमा पदममाया चेपाङसँगै तीन जना बच्चाले पनि च्याउ खाएका थिए । वडाध्यक्ष सन्तबहादुर मगरले एक जनाको निधन भएपछि अरु दुई जनालाई हतारहतार अस्पताल पठाइएको बताए । 

अस्पतालले घरमै रहेका बुबाआमालाई पनि अस्पताल ल्याउन भनेको छ । ठूलो मान्छेलाई पछि लक्षण देखापर्ने भएकाले बुबाआमालाई ल्याउन लागिएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक मगरले जानकारी दिए ।

डा. पौडेलका अनुसार जङ्गली च्याउमा एमेनिटा भन्ने बिष हुन्छ । यसले कलेजोमा असर गर्छ र केलेजो फेल हुने समस्या हुन्छ । विस्तारै दिमागमा असर गर्ने, बेहोस हुने, मिर्गौलामा पनि असर गर्ने हुँदा बिरामीको मृत्यु हुने गरेको छ ।     

salt training

कमेन्ट गर्नुहोस्