२४ जेठ २०८३, आइतबार
तेस्रो फिफा विश्वकप– १९३८

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

जेठ १, २०८३
काठमाडौं
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

क्रमश: उरुग्वे र इटालीलाई घरेलु मैदानमा उपाधि चुमाएपछि फिफा विश्वकपको तेस्रो संस्करण फ्रान्सेली भूमिमा पुगेको थियो । तेस्रो संस्करण सन् १९३८ को जुन ४ देखि १९ तारिखसम्म फ्रान्समा आयोजना भयो । दोस्रो विश्वयुद्धअघि आयोजना भएको यो अन्तिम विश्वकप थियो ।

फ्रान्स फिफा विश्वकप आयोजना गर्ने इटालीपछिको दोस्रो युरोपेली राष्ट्र पनि बन्न पुग्यो । सन् १९३८ को जुन महिना । युरोपमा युद्धको कालो बादल मडारिइरहेको थियो । तर, फ्रान्सेली शहरका गल्लीहरूमा भने फूटबलको छुट्टै उन्माद थियो ।  

तेस्रो फिफा विश्वकपको आयोजक बनेको फ्रान्सले फूटबल भनेपछि हुरुक्कै हुने आफ्ना घरेलु समर्थकको अगाडि विश्व विजेता बन्ने सपना देखेको थियो । तर, प्रतियोगिता शुरू भएको तीन साता पनि बित्न नपाउँदै त्यो सपना चकनाचुर बन्यो ।  

पक्कै पनि इतिहासलाई निरन्तरता दिन नसक्नु फ्रान्सका लागि दु:खद क्षण थियो । यसअघि, पहिलो र दोस्रो विश्वकपको उपाधि आयोजक राष्ट्रले नै जितेका थिए । तेस्रो संस्करणमा आएर फ्रान्स यसको अपवाद बन्न पुग्यो ।

००

यसरी पाएको थियो फ्रान्सले अधिकार

फिफा विश्वकपको तेस्रो संस्करण आयोजनाका लागि तीनवटा राष्ट्रले फिफासामु दाबी प्रस्तुत गरेका थिए । पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको अर्जेन्टिना पनि यो दौडमा थियो ।

फ्रान्स र जर्मनी पनि आफ्नो देशमा तेस्रो विश्वकप आयोजना गर्न चाहन्थे । फिफाले अन्तिम समयसम्म पनि सर्वपक्षीय सहमति खोज्ने प्रयास गरेको थियो ।

तर, तीनवटै राष्ट्र आ–आफ्नो अडानमा कायमै रहे । त्यसपछि सन् १९३६ को अगस्त १३ तारिखमा जर्मनीको बर्लिनमा बसेको फिफाको साधारणसभाले आयोजक चुन्न मतदान गर्ने निर्णय लियो ।

null

त्यो मतदानमा फ्रान्सको पक्षमा १९ मत पर्‍यो । अर्जेन्टिनाले तीन र जर्मनीले एक मत पायो । यसरी फ्रान्स अत्यधिक मतबाट विजयी हुँदै विश्वकपको आयोजक बनेको थियो ।

००

अमेरिका र अर्जेन्टिनाको बहिष्कार

युरोपलाई लगातार दुईपटक विश्वकप आयोजनाको अधिकार दिइएपछि अन्य महादेशका थुप्रै राष्ट्र असन्तुष्ट बनेका थिए । कतिपय राष्ट्रले विश्वकप नै बहिष्कार गर्ने धम्की पनि दिए ।

सोही कारणले अमेरिका र मेक्सिकोसँगै थुप्रै राष्ट्रले तेस्रो विश्वकप नै बहिष्कार गरे । यद्यपि, अमेरिका र मेक्सिको दुबैले छनोट प्रतियोगितामा भने सहभागिता जनाएका थिए ।

विभिन्न कारणले अर्जेन्टिना, उरुग्वेजस्ता प्रभावशाली दक्षिण अमेरिकी राष्ट्रले पनि तेस्रो विश्वकप बहिष्कार गरे । देशभित्र चलिरहेको गृहयुद्धका कारण स्पेन पनि सहभागी भएन ।

समग्रमा, पहिलो संस्करणदेखि नै शुरू भएको बहिष्कारको राजनीतिले फ्रान्समा आयोजित तेस्रो संस्करणमा पनि निरन्तरता पायो ।

फ्रान्सको टीम

००

यही विश्वकपदेखि शुरू भयो यस्तो नियम

यसअघिको विश्वकपमा साविक विजेताले स्वत: विश्वकप खेल्न पाउने नियम थिएन । आयोजक राष्ट्रले भने स्वत: विश्वकपमा सहभागिता जनाउन पाउँथ्यो ।

तर, तेस्रो संस्करणदेखि साविक विजेताले पनि छनोट चरणमा सहभागी हुनु नपर्ने नयाँ नियम लागू गरियो । सोही नियमलाई टेकेर इटालीले तेस्रो विश्वकप खेल्ने अवसर पायो ।

सन् १९३८ को विश्वकपबाट शुरू भएको यो नियमले लामै समय निरन्तरता पायो । सन् २००२ को विश्वकपछि भने साविक विजेताले स्वत: खेल्न पाउने नियम हटाइएको थियो । 

००

पहिलो पटक एसियाको उपस्थिति

अघिल्लो संस्करणको तुलनामा तेस्रो विश्वकपमा सहभागी टोलीको संख्या घटाइएको थियो । यो विश्वकपमा १५ टोलीले मात्र भाग लिएका थिए ।

यही संस्करणमार्फत एसियाले पनि फिफा विश्वकपमा आफ्नो उपस्थिति दर्ता गरायो । फिफा पुरुष विश्वकपमा एसियाको प्रतिनिधित्व गर्ने पहिलो टोली बन्यो डच इस्ट इन्डिज (हालको इन्डोनेसिया) ।

अफ्रिकाबाट कुनै पनि राष्ट्र छनोट हुन सकेन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट भने क्युबाले सहभागिता जनाएको थियो । विश्वकपमा क्युबाको यो पहिलो सहभागिता थियो ।

दक्षिण अमेरिकाबाट ब्राजिल उपस्थित थियो भने युरोपबाट १२ राष्ट्रले सहभागिता जनाएका थिए । १३ राष्ट्रले सहभागिता जनाउने भनिए पनि अस्ट्रियाले अन्तिम समयमा नाम फिर्ता लियो ।

अस्ट्रियन टोली

‘डच इस्ट इन्डिज’ र क्युबासँगै दुई युरोपेली राष्ट्र नर्वे र पोल्यान्डको पनि यो पहिलो विश्वकप सहभागिता थियो । समग्रमा युरोप बाहिरका तीन राष्ट्रमात्र तेस्रो विश्वकपमा सहभागी थिए ।

००

यसरी चम्कियो स्विडेनको भाग्य

यो विश्वकपमा पनि अघिल्लो संस्करणकै जस्तो नियम लागू गरिएको थियो । निर्धारित ९० र थप गरिएको ३० मिनेटको खेल बराबरीमा सकिए त्यो खेल अर्को दिन खेलाउने प्रावधान कायमै रह्यो ।

अघिल्लो संस्करणजस्तै पहिलो चरणको खेलसमेत नकआउट नै थियो । सोही नियमका कारण स्विडेनको भाग्य चम्किएको थियो ।

प्रारम्भिक चरणमा स्विडेनले अस्ट्रियासँग खेल्नुपर्ने थियो । तर, अस्ट्रियाले नाम फिर्ता लिएकाले स्विडेन ‘बाई’ पाएर सिधै क्वार्टरफाइनलमा पुगेको थियो ।

यो विश्वकपमा पनि तीनवटा खेल दुई दिन खेलाइएको थियो । प्रारम्भिक चरणमा स्विट्जरल्यान्ड र जर्मनी तथा क्युबा र रोमानियाबीचको खेलको स्पष्ट निर्णय पहिलो दिन आएन ।

सोही खेल दोस्रो दिन खेलाइँदा स्विट्जरल्यान्डले जर्मनीलाई ४–२ र क्युवाले रोमानियालाई २–१ गोलले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

क्वार्टरफाइनलमा ब्राजिल र चेकोस्लोभाकियाबीचको खेल पनि दुई दिन खेलाइएको थियो । ‘रिप्ले’ खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

००

null

चकनाचुर भयो जुल्स रिमेटको देशको सपना

विश्व फूटबलमा अत्यन्तै सम्मानित नाम हो, जुल्स रिमेट ।

उनी फिफाका पूर्वअध्यक्ष हुन् । रिमेटलाई विश्वकप फूटबलको पर्यायका रूपमा पनि हेरिन्छ । उनकै सक्रियतामा विश्वकप फूटबलको उदय भएको थियो ।

उनी फ्रान्सेली नागरिक थिए र तेस्रो संस्करण पनि उनकै देशमा आयोजना हुँदैथियो ।

त्यसैले उरुग्वे र इटालीले जस्तै फ्रान्सले पनि आयोजकको रूपमा उपाधि उचाल्ने सपना देखेको थियो । फ्रान्सको तयारी राम्रो थियो र मनोबल पनि उच्च ।

फ्रान्सले विश्वकपलाई अविस्मरणीय बनाउन ठूलो राशी खर्च पनि गरेको थियो । मुख्य रंगशालाको क्षमता ३५ हजारबाट बढाएर ६५ हजार पुर्‍याएको थियो ।

यद्यपि, विश्वयुद्धको त्रासदी शुरू हुनुभन्दा ठीक एक वर्षअघिको त्यो समय फ्रान्सेली जनताका लागि एउटा उत्सवजस्तै थियो ।

तेस्रो विश्वकप खेलाएको बल

प्रशिक्षक गास्टन बारुको नेतृत्वमा रहेको फ्रान्सेली टोलीमा लरेन्ट डि लोर्टो, जिन निकोलस र कप्तान इथिने म्याटलरजस्ता अनुभवी खेलाडी थिए ।

फ्रान्सले प्रतियोगिताको केही दिनअघि इङ्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

त्यो खेलमा फ्रान्सका केही प्रभावशाली खेलाडी चोटग्रस्त पनि भएका थिए ।

पहिलो चरणको खेलमा बेल्जियमलाई १–३ गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा पुगेको थियो । त्यसैले फ्रान्सेली समर्थक उत्साही पनि थिए ।

बेल्जियम भर्सेस फ्रान्स

समर्थकहरूले उपाधि आफ्नो हातैमा आइसकेको अनुभव पनि गरिसकेका थिए । तर, समर्थकको त्यो खुशी लामो समय टिक्न सकेन ।

अन्तत: फ्रान्सेली टोली क्वार्टरफाइनलमा पराजित भयो । साविक विजेता इटालीले क्वार्टरफाइनलमा फ्रान्सलाई ३–१ गोलले स्तब्ध: पार्‍यो ।  

इटाली र फ्रान्सबीचको खेल

त्यो खेल हेर्न ५० हजार फ्रान्सेली समर्थक रंगशालामा उपस्थित थिए । नमीठो हारसँगै उनीहरूको सपना पनि चकनाचुर भयो । इटालीका प्रशिक्षक भिटोरियो पोजोले सन् १९३४ को टोलीमा ठूलो हेरफेर गरे पनि टोलीलाई एकढिक्का बनाएका थिए ।

खासगरी, इटालीका स्ट्राइकर सिल्भियो पिओला फ्रान्सको बाटोमा सबैभन्दा ठूलो तगारो बने । उनले दुई गोल गर्दै फ्रान्सको डिफेन्सलाई तहसनहस पारे । वास्तवमै पिओला सेन्टर–फरवार्डको उत्कृष्ट उदाहरण थिए ।  

उनलाई रोक्न नसक्नु नै फ्रान्सको हारको मुख्य कारण बन्यो । त्यसमाथि, त्यो दिन चलेको तीव्र पश्चिमी हावाले पनि फ्रान्सेली शैलीभन्दा इटालीको प्राविधिक खेललाई बढी साथ दिएको मानिन्छ । अन्तत: इटालीले ३–१ को जित दर्ता गर्‍यो र फ्रान्स प्रतियोगिताबाट बाहिरियो ।

००

किन असफल भयो फ्रान्सेली अभियान ?

विज्ञहरूका अनुसार फ्रान्सको असफलताका केही मुख्य कारण थिए । टोलीमा सन्तुलनको अभाव थियो । सन् १९३४ को निराशापछि प्रशिक्षक बारुले टोलीमा खेलाडी भित्राएका थिए । तर, त्यो प्रभावकारी बन्न सकेन ।

तत्कालीन समयमा हंगेरीका ग्युला जेन्गेलर वा ब्राजिलका लिओनिडासजस्ता ‘म्याच विनर्स’ खेलाडीको फ्रान्सेली टोलीमा अभाव देखियो । घरेलु मैदान र समर्थकको दबाबलाई खेलाडीले राम्रोसँग व्यवस्थापन गर्न सकेनन् ।

इटाली भर्सेस हंगेरी

सन् १९३८ को फ्रान्सको त्यो हारले विश्वकप फूटबलमा एउटा नयाँ परम्पराको शुरूवात गर्‍यो । त्यसपछि घरेलु मैदानमा आयोजक राष्ट्रले उपाधि जित्न नसक्ने क्रम शुरू भयो ।

त्यसपछि इङ्ल्यान्ड (सन् १९६६), पश्चिम जर्मनी (सन् १९७४), अर्जेन्टिना (सन् १९७८) र फ्रान्स (सन् १९९८)ले मात्र घरेलु मैदानमा उपाधि जित्ने सौभाग्य हासिल गरे ।

सन् १९३८ को विश्वकपमा कोलम्बसको मैदानमा व्यहोरेको त्यो तीतो हार मेटाउन फ्रान्सले ६० वर्ष निरन्तर संघर्ष गर्नुपर्‍यो । अन्तत: सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा त्यो ६ दशक लामो पीडाको अध्याय औपचारिक रूपमा अन्त्य भयो ।

नेदरल्यान्ड्सको टीम

००

जब इटालीका प्रशिक्षकले इतिहास रचे

तेस्रो विश्वकपको सेमिफाइनलमा हंगेरीले स्विडेनलाई ५–१ र इटालीले ब्राजिललाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाए ।  ब्राजिलले स्विडेनलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो ।  

फाइनलमा हंगेरीलाई २–४ गोलले हराउँदै इटालीले उपाधि कुम्ल्यायो । यसरी इटाली लगातार दुईपटक फिफा विश्वकपको उपाधि चुम्ने पहिलो राष्ट्र बन्न पुग्यो । यसको सबैभन्दा ठूलो श्रेय इटालीका प्रशिक्षक भिटोरियो पोजोले पाउनु स्वभाविक थियो ।

इटालीलाई लगातार दुईपटक विश्वकप जिताएर उनी विश्व फूटबलको पुराणपात्र पनि बने । यसअघि, उनकै प्रशिक्षकत्वमा इटालीले सन् १९३४ को विश्वकप पनि चुमेको थियो । उनले चार वर्षअघिको टोलीमा ठूलो हेरफेर गरेका थिए । तर, उनले आफ्नो टोलीलाई एकढिक्का बनाएर राख्न कुनै कसर छाडेनन् । त्यसैको प्रतिफल थियो, इटालीको दोस्रो उपाधि ।

००

ब्राजिलका लियोनिडासको सात गोल

तेस्रो विश्वकपमा ४२ खेलाडीले कुल ८४ गोल गरे । ब्राजिलका लियोनिडास डा सिल्भा सर्वाधिक गोलकर्ता बने । उनी एक्लैले सात गोल गरेका थिए ।  

तीन खेलाडीले पाँच–पाँच तथा दुई खेलाडीले चार–चार गोल गरेका थिए । उक्त संस्करणमा दुई खेलाडीबाट आत्मघाती गोल पनि भएको थियो ।  

स्विडेनका स्वेन ज्याकबसनबाट हंगेरीविरुद्धको खेलमा आत्मघाती गोल भएको थियो । अर्को आत्मघाती गोल स्विट्जरल्यान्डका अर्नस्ट लोर्टस्चरबाट जर्मनीविरुद्धको खेलमा भएको थियो ।

००

तेस्रो विश्वकपसँग जोडिएका केही रोचक कथा : 

सन् १९३८ को विश्वकप फूटबल केवल खेल मैदानको प्रतिस्पर्धा मात्र थिएन, यो राजनीतिक दबाब, अनौठा संयोग र धेरै गोलहरूको एउटा अविस्मरणीय महाकुम्भ पनि थियो । दोस्रो विश्वयुद्ध शुरू हुनुभन्दा अघिको यो अन्तिम विश्वकपमा थुप्रै रोचक घटना भएका थिए ।

० मुसोलिनीको सन्देशले खेलाडीमा त्रास : फाइनल खेलअघि मुसोलिनीले इटालीका खेलाडीहरूलाई एक टेलिग्राम पठाएका थिए । त्यसमा भनिएको थियो, ‘जित या मर ।’

यो सन्देशले इटालीका खेलाडीमा निकै ठूलो त्रास फैलाएको थियो । खेलपछि हंगेरीका गोलरक्षक एन्टाल साबोले रमाइलो टिप्पणी गर्दै भनेका थिए, ‘मैले चार गोल खाएको हुनसक्छु, तर कम्तीमा मैले इटालीका खेलाडीहरूको ज्यान बचाएको छु ।’

० जब पेनाल्टी हान्दा कप्तानको कट्टु खुस्कियो : ब्राजिलविरुद्धको सेमिफाइनल खेलमा इटालीका कप्तान गिउसेप मेज्जाले पेनाल्टी प्रहार गर्दा उनको कट्टु नै खुस्किएको थियो । तर, उनी आत्तिएनन् । उनले एक हातले कट्टु माथि तान्दै पेनाल्टी प्रहार गरे र त्यो गोलमा परिणत पनि भयो । त्यो दृश्य देखेर दर्शकहरू लामो समय हाँसेका थिए ।

० १६ वर्षसम्म इटालीको ऐतिहासिक राज : इटालीले सन् १९३४ को उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक विश्वकप जित्यो । भिटोरियो पोजो दुईपटक विश्वकप जित्ने विश्वकै एकमात्र प्रशिक्षक बने । दोस्रो विश्वयुद्धका कारण सन् १९५० सम्म अर्को विश्वकप हुन सकेन । त्यसैले इटाली लगातार १६ वर्षसम्म विश्वकप विजेता बनिरह्यो ।

विश्वविजेता इटालीको टीम

० गोलको वर्षा : सन् १९३८ को विश्वकपमा प्रति खेल औसत ४.६७ गोल भएको थियो । त्यो विश्वकप इतिहासकै सबैभन्दा धेरै हो । त्यो विश्वकप गोलको हिसाबले निकै रोमाञ्चक थियो ।

० जर्सीको रङमा राजनीति : फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलमा इटालीका खेलाडी आफ्नो परम्परागत नीलो रङ्को जर्सी छोडेर मुसोलिनीको इच्छाबमोजिम ‘फासिस्ट’को प्रतिक मानिने कालो रङ्को जर्सी लगाएर मैदानमा ओर्लिएका थिए ।

० एसियाको पहिलो पाइला : इन्डोनेसिया (तात्कालिन डच इस्ट इन्डिज) फिफा पुरुष विश्वकप खेल्ने पहिलो एसियाली राष्ट्र बन्यो । यद्दपि, डच इस्ट इन्डिज हंगेरीविरुद्धको आफ्नो पहिलो खेलमै ०–६ गोलले पराजित भयो ।

० क्युवाको चमत्कार : विश्वकपमा पहिलोपटक सहभागिता जनाएको क्युवाले सबैलाई छक्क पार्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गर्‍यो । रोमानियालाई हराएर क्युवाले प्रतियोगितामै ठूलो उलटफेर गरेको थियो ।

० पहिलो आत्मघाती गोल : स्विट्जरल्यान्डका अर्नस्ट लोर्टस्चर विश्वकपको इतिहासमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने । उनीबाट जर्मनीविरुद्धको खेलमा आत्मघाती गोल भएको थियो ।

० राजनीतिक मार : अस्ट्रिया विश्वकपमा छनोट भएको थियो । तर, जर्मनीको हस्तक्षेपका कारण अन्तिम समयमा नाम फिर्ता लिनु परेको थियो । धेरै अस्ट्रियाली खेलाडीलाई जबरजस्ती जर्मनीको टोलीबाट खेल्न बाध्य पारिएको थियो ।

० पहिलोपटक जर्सी नम्बर : यही विश्वकपदेखि पहिलोपटक खेलाडीको जर्सीमा ‘नम्बर’ राख्ने चलन शुरू भएको थियो । त्यसअघि खेलाडीको जर्सीमा नम्बर राखिँदैन थियो ।

तत्काली विश्वकपको पोस्टर

पढ्नुहोस्, पहिलो भाग :

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

salt training

कमेन्ट गर्नुहोस्