२९ जेठ २०८३, शुक्रबार
कांग्रेस आन्तरिक विवाद

कांग्रेसमा ‘फरक बाटो रोज्ने’सम्मको धम्की, के हो इतर पक्षको बटमलाइन?

सबैलाई समेटेर लैजान हामी हदैसम्म लचक बनेका छौं- महामन्त्री घिमिरे
जेठ १, २०८३
काठमाडौं
कांग्रेसमा ‘फरक बाटो रोज्ने’सम्मको धम्की, के हो इतर पक्षको बटमलाइन?

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगसँगै सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसक्दा पनि कांग्रेसभित्रको विवाद मत्थर हुन सकेको छैन ।

पार्टीको नेतृत्वले इतर समूहका नेताहरूसँग संवाद, इतर समूहका नेतालाई केन्द्रीय समितिमा मनोनयन लगायतका प्रयास गर्दा पनि विवाद मत्थर भएको छैन ।

सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख २३ गते भेटवार्ता गरेर संवादहीनताको ‘आइसब्रेक’ तोडे । वैशाख २२ गते शेखर कोइरालासँग भेटवार्ता गरेर सहमतिको प्रयास गरे ।  

वैशाख २८ मा इतर समूहका १९ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरे । सार्वजनिक मञ्चबाट सबैलाई मिलाएर लैजाने दोहोर्‍याइरहेका छन् । तरपनि कांग्रेस विवाद सेलाएको छैन ।  

बरु, संस्थापन इतर (शेरबहादुर देउवा पक्ष)का कतिपय हार्डलाइनर नेताहरूबाट फरक बाटोमा जानुपर्नेसम्मका कुरा आइरहेका छन् । गगनको अण्डरमा बस्न नसकिने भन्दै कतिपय नेताले नयाँ पार्टी गठन गरेर जानुपर्नेसम्ममा कुरा गरिरहेका छन् ।  

बुधबार देउवा पक्षको बागमती प्रदेश भेलामा नेताहरूले नयाँ नेतृत्वलाई चुनौती दिए । प्रकाशमान सिंह, मोहनबहादुर बस्नेत, कान्छाराम तामाङदेखि जीतजंग बस्नेतसम्मले धम्कीको भाषा बोले । मोहन बस्नेतले त विगतमा पार्टी विभाजन भएको सन्दर्भ कोट्याउँदै गगन थापाले नटेरेमा फरक बाटो जानुपर्छ भनेर भने ।

बस्नेतले फरक बाटो रोज्नुपर्ने कुरा गर्दा कतिपय सहभागीले हो–हो भनेका थिए । अहिलेको नेतृत्वप्रति असहमति राख्ने जीतजंग बस्नेतले विशेषबाट आएको केन्द्रीय समिति नै भंग गरेर जानुपर्ने प्रस्ताव गरेका थिए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनमा जस्तै १५ औं महाधिवेशनमा पनि पार्टी कब्जा गर्ने रणनीति अनुसार अहिलेको नेतृत्वले क्रियाशील सदस्यता डिजिटलाइजेसनको कुरा गरिरहेको आरोप लगाए ।

यसबीचमा विशेष महाधिवेशनको चर्को विरोध गरेका कृष्ण सिटौलालाई राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेताबाट हटाउने निर्णयले संस्थापन इतरका नेताहरू झन चिढिए ।

सिटौलालाई हटाएकोमा र केन्द्रीय समिति विस्तारमा असहमति राखेका पूर्णबहादुर खड्काले पार्टी एकतामा भने जोड दिएका छन् ।

‘म प्रस्ट छु र प्रस्ट पार्न चाहन्छु कि नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौं’, खड्काले वैशाख २९ गते एक सन्देशमा भनेका छन्, ‘त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजीको र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ ।’

१४औं का निर्वाचित समेटेर आयोजक समिति बटमलाइन

सर्वोच्च अदालतले गगन नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि काठमाडौंमा भएको इतर पक्षको भेलाले पार्टी एकताका लागि नेतृत्वले पहल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । पार्टी एकताका लागि पहल गर्नुपर्ने कुरा गरे पनि के के गर्नुपर्ने भनेर भनेको छैनन् ।

नेपाली कांग्रेसका संस्थापन इतर (पूर्णबहादुर खडका समूह र शेखर कोइराला समूह)ले सहमतिका लागि अहिलेको केन्द्रीय समितिलाई १५ औं महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने कुरा बटमलाइन बनाएको छ ।

इतर समूहका एक नेताका अनुसार विभिन्न नेतामार्फत् गगनसमक्ष यो प्रस्ताव राखिएको छ । ‘सबै पक्षको सहमति हुने गरी महाधिवेशन आयोजक समिति बनाऔं, सबैलाई समेटन नसकिएपनि १४ औं महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई समेटेर जान सकिन्छ’ ती नेताले लोकान्तरसँग भने ।

null

मोहन बस्नेतले भनेजस्तो ‘फरकबाटो रोज्नुपर्छ’ भनेर पार्टी विभाजनको पक्षमा उभिन नहुनेमा संस्थापन इतर समूहका नेताहरूको धारणा छ । 

इतर समूहका नेता रामहरि खतिवडाले कांग्रेसलाई कमजोर बनाउने पक्षमा कोही नरहेको बताए । ‘लोकतन्त्रको भविष्य नै संकटमा परेको अवस्थामा कांग्रेस थप कमजोर होस् भन्ने कसैले चाहेको छैन, सबैलाई समेटेर जान सभापतिले पहल गर्नुपर्छ’ खतिवडाले लोकान्तरसँग भने ।

पूर्णबहादुर खड्का र शेखर कोइरालालाई समेत समेटेर महाधिवेशन आयोजक समिति बनाउन सके विवाद समाधान हुने खतिवडाको भनाइ छ । गगन नेतृत्वको केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ’ कोइरालाले वैशाख २९ गते सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन् ।

संस्थापन इतर समूहले आयोजक समिति गठन गरेर सोही समितिले नै मिति तोक्नु पर्ने अडान राखेको छ । गत पुस २८–२९ मा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको थियो ।

सबैलाई समेटेर लैजान हदैसम्म लचक छौं– घिमिरे

कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भने सबैलाई समेटेर लैजानको लागि आफूहरू हदैसम्मको लचक बनेको प्रतिक्रिया दिएका छन् । ‘सभापतिज्यूले पनि पहल गर्नुभएको छ, हामीले पनि भेटघाट गरेका छौं । पार्टीमा योगदान गरेका कसैको पनि अवमूल्यन हुँदैन’, घिमिरेले भने ।

सबैलाई समेट्ने प्रतिबद्धता अनुसार नै विशेष महाधिवेशनको विरोध गरेका नेतालाई समेत केन्द्रीय समितिमा मनोनयन गरिएको उनले बताए । 

‘कतिपय साथीहरूले विशेष महाधिवेशनलाई धारे हात लगाउनु भएको थियो, तर पनि हामीले सबैलाई समेट्यौं’, घिमिरेले भने, ‘संसदीय दलको नेता चयनदेखि महिला संघको अध्यक्ष बनाउँदासम्म हामीले सन्तुलन कायम गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्