
भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरणमैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ । अदालतले मुद्दाको सुनुवाइ सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत मात्र गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतद्वारा जारी निर्देशनअनुसार अब सोमबार र शुक्रबार तथा अन्य निर्धारित दिनहरूमा भिडियो कन्फरेन्समार्फत मात्र सुनुवाइ हुनेछ । यस निर्णयको एक भागको रूपमा, अदालतले कुनै पनि पक्षलाई समस्या नहोस् भन्नका लागि दर्ता शाखालाई सुनुवाईको लागि भिडियो लिङ्कहरू समयमै पठाउन र प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने सुनिश्चितताका लागि पनि निर्देशन दिएको छ।
कोभिड–१९ महामारीपछि सुरु भएको डिजिटल सुनुवाईलाई अब स्थायी र व्यवस्थित ढाँचामा समावेश गरिएको अदालत प्रशासनले जनाएको छ ।
इन्धन खपत कम गर्न सकियोस् र स्रोतहरूको राम्रो उपयोग गर्न सकियोस् भनी सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सर्वसम्मतिले ‘कार–पुलिङ’ व्यवस्थालाई आपसमा बढावा दिने निर्णय गरेका छन् । वर्तमान विश्व परिस्थिति र ऊर्जा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । यसको उद्देश्य वातावरणमा पर्ने दबाब कम गर्नु पनि हो ।