![मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: लचिलो कार्यदिशालाई निरन्तरता, बाह्य क्षेत्र सुदृढ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/Rastra%20Bank.jpg)
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक समीक्षामा विद्यमान लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ ।
समीक्षामा केन्द्रीय बैंकले मुलुकको बाह्य क्षेत्र बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिमा अझै अपेक्षित सुधार आउन नसकेको विश्लेषण गरेको छ।
समीक्षा अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। कृषि क्षेत्रमा १.५८ प्रतिशतको झिनो वृद्धि देखिए पनि उद्योग क्षेत्रमा ५.६७ र सेवा क्षेत्रमा ४.२१ प्रतिशतको सुधार हुने प्रक्षेपण गरिएको छ।
मुद्रास्फीतितर्फ भने बैंकले सन्तोषजनक नतिजा प्राप्त गरेको छ। २०८२ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत कायम भएको छ, जुन बैंकले तोकेको ५ प्रतिशतको लक्ष्यभन्दा न्यून हो।
समीक्षा अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। यसैगरी, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ। यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ, जुन बैंकको न्यूनतम ७ महिनाको लक्ष्यभन्दा निकै बढी हो।
बैंकिङ क्षेत्रमा तरलता पर्याप्त भए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने सुस्त देखिएको छ। चालू आर्थिक वर्षको नौ महिनामा निजी क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले मात्र बढेको छ। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूको औसत ब्याजदरमा भने कमी आएको छ। २०८२ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको ब्याजदर ९.७७ प्रतिशत कायम भएको छ।
नीतिगत व्यवस्थातर्फ राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ। ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन 'स्थायी निक्षेप सुविधा' उपलब्ध गराउने व्यवस्थामा पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ।