
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार अमेरिकाले नेपाललाई जितका लागि एक सय ९६ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको अमेरिकी टोलीले ४३.३ ओभरमै अलआउट हुनुअघि एक सय ९५ रन बनाएको हो ।
अमेरिकी ब्याट्सम्यानलाई ठूलो योगफल तयार पार्नबाट रोक्ने क्रममा नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले किफायती बलिङ गर्दै ७.३ ओभरमा केवल २४ रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे ।
सन्दीप लामिछाने र गुलसन झाले पनि एक–एक विकेट लिए । नेपाली बलरहरूले अतिरिक्त रूपमा पनि केवल ६ रन मात्रै दिए ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ८३ रन बनाए ।
३१औँ ओभरको पाँचौँ बलमा सोमपाल कामीले पटेललाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएपछि अमेरिकाले लगातार विकेट गुमाउनेक्रम सुरु भएको थियो ।
अमेरिकाका लागि शेहान जहाँगिरले पनि अर्धशतक बनाए । उनले ५२ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ५२ रन बनाए ।
मिलिन्द कुमार ४१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए । हरमित सिंहले १४ रन जोडे । अमेरिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।