
बाजुराको मडिमालिका दर्शन गर्न हिँडेका राष्ट्रिय सतर्कता केन्द्रका एक लेखा अधिकृतको मृत्यु भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत अन्दाजी ५५/५६ वर्षीय विश्वराज पन्थीको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
बडिमालिका नगरपालिका-८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो । उपचारका क्रममा पन्थीलाई चिकित्सकले शनिबार साँझ ५:५० बजे मृत घोषणा गरेका थिए ।
पन्थीको शवलाई जिल्ला अस्पताल मार्तडीमा राखिएको छ । शवलाई आइतबार आफन्त पुगेपछि पोस्टमार्टम गरेर जिम्मा लगाइने इन्स्पेक्टर शाहीले लोकान्तरलाई जानकारी दिए ।
मृतक पन्थीको स्थायी ठेगाना रुपन्देहीको भैरहवा रहेको प्रहरीले जानकारी दिएको छ ।