२२ जेठ २०८३, शुक्रबार
मानव तस्करीमा नयाँ ट्रेन्ड

नेपाली दम्पतीको दर्दनाक कथा: फेसबुकबाट चिनजानदेखि मानव तस्करीको जालोसम्म

जेठ ३, २०८३
काठमाडौं

नेपालबाट दैनिक दुई हजार बढी सर्वसाधरण वैदेशिक रोजगारीका लागि विदेशिने क्रम जारी रहेकै बेला रोजगारीका नाममा हुने मानव तस्करीका घटनाले गम्भीर रूप लिन थालेका छन् ।

सामाजिक सञ्जालमार्फत शुरू भएको सामान्य चिनजान कसरी मानव बेचबिखन, आर्थिक ठगी, मानसिक यातना र बन्धक अवस्थासम्म पुग्न सक्छ भन्ने एउटा घटनाले अहिले फेरि प्रश्न उठाएको छ ।

पीडितको जाहेरी अनुसार उनी बहराइनमा काम गरिरहेका बेला फेसबुकमार्फत सीता थापा नाम गरेकी महिलासँग चिनजान भएको थियो ।

शुरूमा सामान्य कुराकानी भए नि पछि ती महिलाले भारतमा राम्रो तलबको काम मिलाइदिने भन्दै प्रलोभन दिन थालेकी थिइन् । पीडित र उनकी श्रीमतीलाई क्रमश: सेक्युरिटी गार्ड र कपडा प्याकिङको काम दिने तथा मासिक ३५ हजार भारतीय रुपैयाँसम्म आम्दानी हुने आश्वासन दिइएको थियो ।

पछि प्रति व्यक्ति १२ हजार ५ सय भारतीय रुपैयाँ खर्च लाग्ने बताइयो ।

नेपाल फर्किएपछि पनि भारत आउन लगातार दबाब र प्रलोभन दिइएको पीडितले बताएका छन् । अन्तत: उनीहरू काठमाडौंबाट भारतको अयोध्या पुगे, जहाँ सीता थापा आफैं लिन पुगेकी थिइन् ।

तर, त्यहाँ पुगेपछि उनीहरूलाई कम्पनीको कार्यालयमा नभई एउटा होस्टेलमा राखियो ।

पछि मात्रै उक्त स्थान ‘ग्लोबल रिभिजन ट्रेडिङ कम्पनी’ नामक संस्थासँग सम्बन्धित रहेको थाहा भएको पीडितको बयानमा उल्लेख छ । काम शुरू गर्नुअघि तालिम लिनुपर्ने भन्दै उनीहरूबाट २५ हजार भारतीय रुपैयाँ र ४० हजार नेपाली रुपैयाँ लिइएको थियो ।

पीडितका अनुसार त्यसपछि उनीहरूले अपेक्षा गरेको काम पाएनन् । बरु, फेक फेसबुक आईडी बनाउने, सामाजिक सञ्जालमा आकर्षक विज्ञापन हाल्ने र अन्य मानिसलाई भारत बोलाएर पैसा उठाउने तरिका सिकाइयो । एक हप्ताको तालिमपछि ‘व्यापार शुरू गर्न’ भन्दै थप दुई लाख चार हजार रुपैयाँ मागिएको र आफन्तमार्फत नेपालबाट रकम पठाइएको दाबी समेत पीडितको छ ।

जाहेरीमा उल्लेख भएअनुसार उनीहरूलाई स्वतन्त्र रूपमा बाहिर जान दिइएन । एउटै संरचनाभित्र १४ वटा होस्टल रहेको र प्रत्येकमा ४५ देखि ५० जना नेपाली राखिएको आरोप छ ।

त्यहाँ रहेका नेपालीलाई मुख्यत: नयाँ मानिस फसाउने काममा प्रयोग गरिन्थ्यो । सामाजिक सञ्जालमार्फत राम्रो रोजगारीको प्रलोभन देखाएर नयाँ व्यक्तिलाई भारत बोलाउने र उनीहरूबाट रकम असुल्ने गरिएको बयानमा उल्लेख छ ।

पीडितका अनुसार कम्पनीका सञ्चालक भनिएका ललितबहादुर श्रेष्ठले नियमित सेमिनार सञ्चालन गर्दै नेपालबाट धेरै मानिस ल्याउन दबाब दिने गर्थे । प्रत्येक व्यक्तिबाट ५ प्रतिशत कमिसन पाइने व्यवस्था रहेको र नयाँ सदस्य ल्याउन नसके धम्की दिने गरिएको समेत पीडितले उल्लेख गरेका छन् ।

पीडितहरूले आफूहरूलाई डर, त्रास र मानसिक दबाबमा राखिएको बताएका छन् । कम्पनीविरुद्ध बोले मार्ने धम्की दिइएको तथा परिवारसँग स्वतन्त्र सम्पर्क गर्न नदिइएको दाबी गरिएको छ ।

नेपाल फर्किन खोज्दा समेत सहज रूपमा फर्कन नदिइएको र दुई लाख बराबरको कपडा किनेको उल्लेख भएको कागजमा जबरजस्ती हस्ताक्षर गराइएपछि मात्रै फर्किन सफल भएको बयानमा उल्लेख छ ।

घटनामा मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत कारबाही, ठगी गरिएको रकम फिर्ता र क्षतिपूर्ति माग गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा परेको जाहेरीका आधारमा अनुसन्धान पूरा गरी काठमाडौं जिल्ला अदालतमा गत बिहीबार मुद्दा दर्ता भएको हो ।

यस घटनामा अर्को महत्वपूर्ण पक्ष पनि देखिएको छ ।

प्रतिवादी भनिएका कुमार रम्तेलले आफू पनि शुरूमा पीडितकै रूपमा भारत पुगेको र पछि नेटवर्किङ प्रणालीमा फस्दै गएको बयान दिएका छन् । उनका अनुसार कम्पनीले पैसा बुझाएपछि नयाँ मानिस ल्याउन दबाब दिने र त्यसबापत कमिसन दिने व्यवस्था गरेको थियो ।

घटनाले वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जाल प्रयोग गरेर सञ्चालन हुने नयाँ प्रकारको मानव तस्करी र आर्थिक शोषणको जालो उजागर गरेको छ ।

अहिले मानव बेचबिखनको स्वरूप परम्परागत सीमापार ओसारपसारबाट बदलिँदै अनलाइन विज्ञापन, नेटवर्किङ मोडेल र सामाजिक सञ्जाल केन्द्रित हुन थालेको देखिन्छ ।

मानब बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एवं एसएसपी कृष्ण पंगेनीका अनुसार फेसबुक, टिकटक वा म्यासेन्जरमार्फत आउने रोजगारीका प्रस्तावप्रति सतर्क रहनुपर्छ ।

विदेश जानुअघि कम्पनीको वैधानिकता, सरकारी अनुमति र भर्ती प्रक्रियाबारे राम्रोसँग बुझ्न तथा अस्वाभाविक कमाइको प्रलोभनबाट बच्न उनले सुझाव दिएका छन् ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्