नेपालबाट दैनिक दुई हजार बढी सर्वसाधरण वैदेशिक रोजगारीका लागि विदेशिने क्रम जारी रहेकै बेला रोजगारीका नाममा हुने मानव तस्करीका घटनाले गम्भीर रूप लिन थालेका छन् ।
सामाजिक सञ्जालमार्फत शुरू भएको सामान्य चिनजान कसरी मानव बेचबिखन, आर्थिक ठगी, मानसिक यातना र बन्धक अवस्थासम्म पुग्न सक्छ भन्ने एउटा घटनाले अहिले फेरि प्रश्न उठाएको छ ।
पीडितको जाहेरी अनुसार उनी बहराइनमा काम गरिरहेका बेला फेसबुकमार्फत सीता थापा नाम गरेकी महिलासँग चिनजान भएको थियो ।
शुरूमा सामान्य कुराकानी भए नि पछि ती महिलाले भारतमा राम्रो तलबको काम मिलाइदिने भन्दै प्रलोभन दिन थालेकी थिइन् । पीडित र उनकी श्रीमतीलाई क्रमश: सेक्युरिटी गार्ड र कपडा प्याकिङको काम दिने तथा मासिक ३५ हजार भारतीय रुपैयाँसम्म आम्दानी हुने आश्वासन दिइएको थियो ।
पछि प्रति व्यक्ति १२ हजार ५ सय भारतीय रुपैयाँ खर्च लाग्ने बताइयो ।
नेपाल फर्किएपछि पनि भारत आउन लगातार दबाब र प्रलोभन दिइएको पीडितले बताएका छन् । अन्तत: उनीहरू काठमाडौंबाट भारतको अयोध्या पुगे, जहाँ सीता थापा आफैं लिन पुगेकी थिइन् ।
तर, त्यहाँ पुगेपछि उनीहरूलाई कम्पनीको कार्यालयमा नभई एउटा होस्टेलमा राखियो ।
पछि मात्रै उक्त स्थान ‘ग्लोबल रिभिजन ट्रेडिङ कम्पनी’ नामक संस्थासँग सम्बन्धित रहेको थाहा भएको पीडितको बयानमा उल्लेख छ । काम शुरू गर्नुअघि तालिम लिनुपर्ने भन्दै उनीहरूबाट २५ हजार भारतीय रुपैयाँ र ४० हजार नेपाली रुपैयाँ लिइएको थियो ।
पीडितका अनुसार त्यसपछि उनीहरूले अपेक्षा गरेको काम पाएनन् । बरु, फेक फेसबुक आईडी बनाउने, सामाजिक सञ्जालमा आकर्षक विज्ञापन हाल्ने र अन्य मानिसलाई भारत बोलाएर पैसा उठाउने तरिका सिकाइयो । एक हप्ताको तालिमपछि ‘व्यापार शुरू गर्न’ भन्दै थप दुई लाख चार हजार रुपैयाँ मागिएको र आफन्तमार्फत नेपालबाट रकम पठाइएको दाबी समेत पीडितको छ ।
जाहेरीमा उल्लेख भएअनुसार उनीहरूलाई स्वतन्त्र रूपमा बाहिर जान दिइएन । एउटै संरचनाभित्र १४ वटा होस्टल रहेको र प्रत्येकमा ४५ देखि ५० जना नेपाली राखिएको आरोप छ ।
त्यहाँ रहेका नेपालीलाई मुख्यत: नयाँ मानिस फसाउने काममा प्रयोग गरिन्थ्यो । सामाजिक सञ्जालमार्फत राम्रो रोजगारीको प्रलोभन देखाएर नयाँ व्यक्तिलाई भारत बोलाउने र उनीहरूबाट रकम असुल्ने गरिएको बयानमा उल्लेख छ ।
पीडितका अनुसार कम्पनीका सञ्चालक भनिएका ललितबहादुर श्रेष्ठले नियमित सेमिनार सञ्चालन गर्दै नेपालबाट धेरै मानिस ल्याउन दबाब दिने गर्थे । प्रत्येक व्यक्तिबाट ५ प्रतिशत कमिसन पाइने व्यवस्था रहेको र नयाँ सदस्य ल्याउन नसके धम्की दिने गरिएको समेत पीडितले उल्लेख गरेका छन् ।
पीडितहरूले आफूहरूलाई डर, त्रास र मानसिक दबाबमा राखिएको बताएका छन् । कम्पनीविरुद्ध बोले मार्ने धम्की दिइएको तथा परिवारसँग स्वतन्त्र सम्पर्क गर्न नदिइएको दाबी गरिएको छ ।
नेपाल फर्किन खोज्दा समेत सहज रूपमा फर्कन नदिइएको र दुई लाख बराबरको कपडा किनेको उल्लेख भएको कागजमा जबरजस्ती हस्ताक्षर गराइएपछि मात्रै फर्किन सफल भएको बयानमा उल्लेख छ ।
घटनामा मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत कारबाही, ठगी गरिएको रकम फिर्ता र क्षतिपूर्ति माग गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा परेको जाहेरीका आधारमा अनुसन्धान पूरा गरी काठमाडौं जिल्ला अदालतमा गत बिहीबार मुद्दा दर्ता भएको हो ।
यस घटनामा अर्को महत्वपूर्ण पक्ष पनि देखिएको छ ।
प्रतिवादी भनिएका कुमार रम्तेलले आफू पनि शुरूमा पीडितकै रूपमा भारत पुगेको र पछि नेटवर्किङ प्रणालीमा फस्दै गएको बयान दिएका छन् । उनका अनुसार कम्पनीले पैसा बुझाएपछि नयाँ मानिस ल्याउन दबाब दिने र त्यसबापत कमिसन दिने व्यवस्था गरेको थियो ।
घटनाले वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जाल प्रयोग गरेर सञ्चालन हुने नयाँ प्रकारको मानव तस्करी र आर्थिक शोषणको जालो उजागर गरेको छ ।
अहिले मानव बेचबिखनको स्वरूप परम्परागत सीमापार ओसारपसारबाट बदलिँदै अनलाइन विज्ञापन, नेटवर्किङ मोडेल र सामाजिक सञ्जाल केन्द्रित हुन थालेको देखिन्छ ।
मानब बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एवं एसएसपी कृष्ण पंगेनीका अनुसार फेसबुक, टिकटक वा म्यासेन्जरमार्फत आउने रोजगारीका प्रस्तावप्रति सतर्क रहनुपर्छ ।
विदेश जानुअघि कम्पनीको वैधानिकता, सरकारी अनुमति र भर्ती प्रक्रियाबारे राम्रोसँग बुझ्न तथा अस्वाभाविक कमाइको प्रलोभनबाट बच्न उनले सुझाव दिएका छन् ।
हेर्नुहोस्, भिडियो: