
प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ हुँदैछ ।
संसदीय सुनुवाइ समितिले आज दिउँसो साढे १ बजे उनको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।
संसदीय सुनुवाइका लागि सार्वजनिक लेखा समितिको सभाकक्षमा व्यवस्था मिलाउन भनिएको छ ।
'नेपालको प्रधानन्यायाधीश पदमा प्रस्तावित डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम तपसिलमा उल्लेख भएअनुसार हुने भएकोले समितिको उक्त बैठकमा उहाँको उपस्थिति हुने आवश्यक व्यवस्था मिलाइदिनु हुन निर्देशअनुसार अनुरोध गर्दछु,' संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।
विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र छ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए ।
बैठकमा समितिका सदस्यहरू कबिन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्नका लागि धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ ।
संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
