२४ जेठ २०८३, आइतबार

आफ्नै अध्यक्ष र महासचिवमाथि खनिए बुद्धिचाल महासंघका पदाधिकारी

अविश्वास प्रस्तावमा मानव तस्करीको प्रयत्नदेखि आर्थिक दुरुपयोगसम्मको गम्भीर आरोप
जेठ ५, २०८३
काठमाडौं
आफ्नै अध्यक्ष र महासचिवमाथि खनिए बुद्धिचाल महासंघका पदाधिकारी

नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरूले आफ्नै नेतृत्वमाथि आर्थिक अपारदर्शिता, विधानको बेवास्ताजस्ता गम्भीर आरोप लगाउँदै अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

उनीहरूले महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाले महासंघको विधान विपरीत गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका हुन् ।

‘अध्यक्ष महर्जन र महासचिव लामाको मनोमानीका कारण लामो समयदेखि नेपाल चेस खेल साँघुरो घेरामा रहेको अनुभव हामीले गरेका छौँ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष दीपेन राईले भने ।

उपाध्यक्ष धनबहादुर बोगटीले अध्यक्ष महर्जन र महासचिव लामाको व्यक्तिगत मनोमानीको आफूहरूले लामो समयदेखि विरोध गर्दै आएको बताए ।

‘महासंघको कार्यालयसमेत छैन । नियमित अडिट गर्ने र साधारणसभाबाट वार्षिक रूपले नीति तथा कार्यक्रम पारित गराउने प्रचलन पनि छैन । बैठकका निर्णयसमेत कार्यान्वयन भएका छैनन् । पदीय दुरुपयोगका अनेकौं उदाहरण हामीले देखेका छौँ,’ उनले भने ।

उनले महासंघको नेतृत्वले खेलाडीलाई धम्क्याउने गरेको आरोप पनि लगाए । ‘सामाजिक सञ्जालमा खेलाडीलाई थर्काउने हरकतसम्म भएको छ । यी सबै विषयलाई समेटेर चारजना खेलाडीले राष्ट्रिय खेलकुद परिषद्‌मा निवेदन दर्ता गरेपछि छानबिन समिति पनि गठन भएको थियो । हामी त्यो छानबिन समितिको रिपोर्ट सार्वजनिक होस् भन्ने पनि चाहन्छौँ,’ रुष्ट पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ उपाध्यक्ष राईले आफूहरूले विधानसम्मत रूपमा नेतृत्वविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताए । उनले अविश्वासको प्रस्ताव आएपछि विशेष साधारणसभा हैटौंडामा नभई काठमाडौंमै बोलाइनु पर्ने माग पनि गरे ।

अविश्वासको प्रस्तावमा पेश गर्दा विधानअनुसार प्रत्येक तीन महिनामा महासंघको बैठक बेलाइनु पर्नेमा स्वेच्छाचारी ढंगले निर्णय गर्ने गरेको, वर्षमा एकपटक बेलाइनु पर्ने साधारणसभा पनि नबोलाइएको, सन् २०२४ को चेस ओलम्पियाडमा चेससँग असम्बद्ध व्यक्तिलाई सहभागी गराउने उद्देश्यले रकम लिएकोजस्ता गम्भीर आरोप लगाइएको छ ।

यसैगरी, चेस खेलभन्दा बाहिरका मान्छेलाई विदेश पठाइदिने नाममा मानव तस्करीजस्तो जघन्य अपराध गर्ने प्रयत्न गरेको, अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघमा नक्कली प्रतिवेदन पठाएको, खेलाडी कल्याणकारी कोषको रकम दुरुपयोग गरेकोजस्ता गम्भीर आरोप पनि लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्