![प्रधानन्यायाधीश शर्माले लिए शपथ [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Chief_Justice_Dr._Manoj_Kumar_Sharma_6_eI8ubDitNo.jpg)
प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो ।
मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार साँझ ७ बजे सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।




