
फूटबलको महाकुम्भ विश्वकप–२०२६ को माहोल तातिरहँदा पाँचपटक च्याम्पियन ब्राजिलले आफ्नो टोली घोषणा गरेपछि विभिन्न चर्चा–परिचर्चा शुरू भएको छ ।
ब्राजिलका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोटीले २६ सदस्यीय टोलीको घोषणा गरेपछि सबैभन्दा बढी चर्चामा रहेका पात्र हुन्, स्टार खेलाडी नेमार ।
चोटका कारण लामो समय मैदानबाहिर रहेका र फिटनेसलाई लिएर शंकाको घेरामा रहेका ३४ वर्षीय नेमारलाई टोलीमा समावेश गरेर प्रशिक्षक एन्सेलोटीले ठूलो ‘जुवा’ खेलेको टिप्पणी गर्ने विश्लेषकको कमी छैन ।
सन् २०२३ को अक्टोबरमा घाइते भएपछि नेयमारको खेलजीवन नै धरापमा परेको थियो । सान्तोस क्लबबाट यो वर्ष केवल आठ खेल खेल्दै चार गोल गरेका नेमार अझै पूर्णरूपमा स्वस्थ भइनसकेको भन्दै धेरैले विश्वकप टोलीमा उनको चयनको आलोचना गरिरहेका छन् ।
तर, प्रशिक्षक एन्सेलोटी भने नेमारको चयनप्रति स्पष्ट देखिन्छन् । ‘हामीले नेमारको अवस्थालाई सिजनभरि नै नजिकबाट मूल्यांकन गरेका छौँ । उनको फिटनेसमा उल्लेख्य सुधार आएको छ,’ उनले भनेका छन् ।
आगामी विश्वकपमा नेमारको उपस्थिति ब्राजिलका लागि महत्त्वपूर्ण रहेको दाबी पनि प्रशिक्षकले गरेका छन् । एन्सेलोटी भन्छन्, ‘नेमार अनुभवी खेलाडी हुन् । उनको अनुभवले टोलीमा सकारात्मक वातावरण सिर्जना गर्छ । तर, विश्वकपमा उनी विशेष होइनन् । उनले पनि अन्य २५ खेलाडी सरह नै जिम्मेवारी र अनुशासन पालना गर्नुपर्छ ।’
प्रशिक्षक एन्सेलोटीका अनुसार नेमार आगामी विश्वकपमा प्लेइङ–११ मा पर्छन् वा पर्दैनन्, अहिले नै भन्न सकिने अवस्था छैन ।
सन् २०२५ को मेमा ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका एन्सेलोटीका लागि यो टोली छनोट निकै चुनौतीपूर्ण रह्यो । विशेष गरी रोड्रिगो र स्टेभाओजस्ता उदीयमान खेलाडी चोटका कारण टोलीमा नहुनु उनको लागि ठूलो धक्का हो ।
त्यसैले, प्रशिक्षकले गोलरक्षक र अग्रपँक्तिमा युवा जोशभन्दा अनुभवलाई प्राथमिकता दिएका छन् । ब्राजिलका सर्वाधिक गोलकर्ता (७९ गोल) नेमारको उपस्थिति विपक्षीका लागि मात्र होइन, आफ्नै युवा खेलाडीका लागि पनि मार्गदर्शकको रूपमा रहने एन्सेलोटीको बुझाइ छ ।
टोली घोषणा हुनुभन्दा केही समयअघि नै नेमारले आफ्नो इन्स्टाग्राममा ‘ब्राजिल’को नाम थपेर राष्ट्रिय टोलीप्रतिको आफ्नो लगाव सार्वजनिक गरेका थिए ।
एन्सेलोटीले घोषणा गरेको टोलीमा भिनिसियस जुनियर, राफिन्हा, एलिसन, एडरसनजस्ता विश्वस्तरीय खेलाडी छन् । प्रशिक्षक एन्सेलोटी आफ्नो टोलीको बलियो पक्ष सामूहिक भावना र अनुशासन रहेको दाबी गर्छन् ।
‘विश्वकप जित्ने टोली पूर्ण हुँदैन, किनकि पूर्ण टोली भन्ने नै हुँदैन । हामी विश्वकप जित्न सक्षम छौँ भनेर म दाबी गर्नसक्छु । उच्च अपेक्षाले नै हामीलाई थप उत्प्रेरणा दिन्छ,’ उनी भन्छन् ।
आगामी विश्वकपमा ब्राजिल समूह ‘सी’ मा छ । ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ तारिखमा मोरक्कोसँग खेल्नेछ । त्यसपछि ब्राजिलले जुन १९ तारिखमा हाइटी र जुन २४ तारिखमा स्कटल्यान्डको सामना गर्नेछ ।
आफ्नो सम्झौतालाई सन् २०३० को विश्वकपसम्म लम्ब्याइसकेका एन्सेलोटीले ब्राजिललाई पुन: विश्व फूटबलको शिखरमा पुर्याउने सपना देखेका छन् । हेर्न बाँकी छ, नेमारको पुनरागमन र एन्सेलोटीको रणनीतिले ब्राजिल छैटौँ पटक विश्व च्याम्पियन बन्छ कि बन्दैन ।