
ब्ल्याक सीमाथि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको बेलायती वायुसेनाको एउटा जासुसी विमानलाई रूसी लडाकु विमानहरूले अवरोध पुऱ्याएका छन्।
बेलायती रक्षा मन्त्रालयले गत महिना घटेको यस घटनालाई सन् २०२२ पछिको सबैभन्दा गम्भीर रूसी हस्तक्षेप बताएको खबर बीबीसीले छापेको छ ।
मन्त्रालयका अनुसार, रूसको सु-३५ लडाकु विमान बेलायती 'रिभेट जोइन्ट' निगरानी विमानको यति नजिक आयो कि त्यसले विमानको आपतकालीन प्रणालीलाई सक्रिय बनाइनुका साथै अटोपाइलट प्रणालीलाई नै निष्क्रिय पारिदियो। त्यस्तै, अर्को एउटा रूसी सु-२७ जेटले बेलायती विमानको अगाडिको भाग (नाक) बाट मात्र ६ मिटर (१९ फिट) को दूरीमा छ पटकसम्म ओहोरदोहोर गर्दै खतरनाक 'फ्लाईबाई' गरेको समाचारमा उल्लेख छ ।
बेलायती रक्षा सचिव जोन हीलीले रूसी पाइलटहरूको यस व्यवहारलाई अस्वीकार्य भन्दै निन्दा गरेका छन्। उनले भने, 'अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सञ्चालित निहत्था विमानप्रति रूसले देखाएको यो व्यवहारले गम्भीर दुर्घटना र सम्भावित द्वन्द्वको जोखिम बढाउँछ।' हीलीले कठिन परिस्थितिमा पनि बेलायती चालक दलले देखाएको उत्कृष्ट व्यावसायिकताको प्रशंसा गर्दै यस्ता अवरोधले नेटो र आफ्ना सहयोगीहरूको रक्षा गर्ने बेलायतको प्रतिबद्धतालाई कमजोर नपार्ने स्पष्ट पारे।
बेलायती रक्षा मन्त्रालय र विदेश मन्त्रालयले यस पछिल्लो घटनाका बारेमा रूसी दूतावासको ध्यानाकर्षण गराउँदै यसको निन्दा गर्न माग गरेका छन्। पछिल्लो समय उत्तर सागरमा बेलायती रणनीतिक पूर्वाधारहरू नजिक रूसी पनडुब्बीहरूको सक्रियता बढेसँगै आकाशमा पनि रूसी सैन्य आक्रामकता थपिएको अधिकारीहरूले बताएका छन्।