२३ जेठ २०८३, शनिबार
विश्वकप फुटबल शृंखला- १०

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

जेठ ८, २०८३
काठमाडौं
‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

एट्लान्टिक महासागरको विशाल निलो पानीको बीचमा एउटा सानो ज्वालामुखी टापुहरूको समूह छ, केप भर्डे । यो टापुका नागरिकले दशकौँसम्म फुटबललाई केवल मनोरञ्जनका रूपमा मात्र हेरे ।

तर, आज यही सानो टापु राष्ट्रले आफूलाई विश्वको सबैभन्दा ठूलो खेल महोत्सव ‘फिफा विश्वकप–२०२६’ मञ्चमा उभ्याएको छ ।

करिब पाँच लाखमात्र जनसंख्या भएको यो राष्ट्रले विश्वकपमा स्थान बनाउनु कुनै संयोग होइन, बरु एउटा रणनीतिक योजना, रगत–पसिनाको लगानी र अदम्य सहासको परिणाम हो ।

यसरी बदलियो टोलीको भाग्य

केप भर्डेको राष्ट्रिय फुटबल टोली अर्थात्, ‘ब्लू सार्क’ कसरी यति बलियो बन्यो त ? यसको उत्तर आयरल्यान्डमा जन्मिएका डिफेन्डर रोबर्टो ‘पिको’ लोपेसको कथामा लुकेको छ ।

लोपेसले सधैं आयरल्यान्डका लागि खेल्ने सपना देखिरहन्थे । तर, अथक प्रयास गर्दा पनि जब त्यो सम्भव भएन, तब उनलाई आफ्नो पिताको मातृभूमि केप भर्डेबाट फुटबल खेल्न निम्तो आयो ।

अझ रोचक पक्ष त के हो भने, उनलाई टोलीमा सामेल हुन केप भर्डेका तत्कालीन प्रशिक्षक रुई आगासले ‘लिंकडिन’मा सन्देश पठाएका थिए ।

null

शुरूमा झुक्याउने सन्देश ठानेर उनले त्यसलाई बेवास्ता गरे । तर, पछि त्यही सन्देश नै उनको जीवन परिवर्तन गर्ने माध्यम बन्यो । यसरी, केप भर्डेको डिफेन्स लाइनले नयाँ गति लिने अवसर पाएको थियो ।

क्यामरुनको आधिपत्यलाई चुनौती

अफ्रिकी फुटबलमा क्यामरुन एउटा यस्तो नाम हो, जसलाई हराउनु ठूला राष्ट्रहरूका लागि पनि सपनाजस्तै हुन्थ्यो ।

तर, सन् २०२५ को सेप्टेम्बरमा केप भर्डेले त्यही क्यामरुनलाई १–० गोलले हराएर विश्वकप छनोटको समीकरण नै बदलिदिएको थियो ।

लगातार पाँच जित निकालेर छनोट चरणको अन्त्य गर्दै ‘ब्लू सार्क’ले आफूलाई अफ्रिकी महादेशको ‘पावर हाउस’का रूपमा उभ्यायो ।

null

केप भर्डेका प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटो (बुबिस्ता) भन्छन्, ‘क्यामरुनविरुद्धको त्यो जित हाम्रा लागि केवल तीन अंकमात्र थिएन, त्यो हाम्रो राष्ट्रको आत्मविश्वासको पुनर्जागरण पनि थियो ।’

एकतामा आधारित ‘ब्लू सार्क’ को संरचना

केप भर्डेको टोलीमा स्थानीय प्रतिभा र विश्वभरि छरिएका प्रवासी खेलाडीहरूको अनौठो मिश्रण छ । टोलीका मेरुदण्ड हुन्, ३६ वर्षीय रायन मेन्डेस ।

उनले देशका लागि हालसम्म ९० भन्दा बढी खेल खेल्दै टोलीको कप्तानी र गोल गर्ने जिम्मेवारी आफ्नो काँधमा बोकेका छन् ।

भिल्लारियलका लोगान कोस्टाको रक्षात्मक कौशल र पेरिस सेन्ट जर्मन (पीएसजी) का १८ वर्षीय किशोर फाबियो डोमिङ्गोसको उत्कृष्ट खेलले टोलीलाई थप मजबुत बनाएको छ ।

यसैगरी, प्रशिक्षक बुबिस्ता, आफै पनि पूर्वकप्तान हुन् । ‘ब्लू सार्क’को सफलतामा उनको महत्वपूर्ण योगदान छ । उनले आफ्नो टोलीलाई दिएको मुलमन्त्र हो, ‘एकता नै बल हो ।’

सामाजिक रूपान्तरणमा फुटबल मुख्य हतियार

फुटबल संघका अध्यक्ष मारियो सेमेडोको अनुसार, फिफाबाट प्राप्त सहयोगले केप भर्डेको फुटबल संरचनालाई आमूल परिवर्तन गरेको छ ।

‘हामी केवल फुटबल खेलिरहेका छैनौँ, बरु हामी हाम्रा युवाहरूलाई कुलत र अपराधबाट पनि  जोगाइरहेका छौँ,’ सेमेडो भन्छन् ।

विश्वकपमा छनोट भएपछि प्राप्त हुने एक करोड पाँच लाख डलरले अब केप भर्डेका १० वटा टापुहरूमा फुटबलका नयाँ एकेडेमीहरू खोल्ने योजना छ ।

null

केप भर्डेमा १४ वर्षीय युवा खेलाडी युरी मार्ले फर्नान्डेसजस्ता हजारौँ युवाहरूका लागि आज ‘फुटबल’ जीवन फेर्ने आधार बनेको छ ।

‘फुटबलमा ठूला–साना हुँदैनन्, नतिजा मैदानले दिन्छ’

जुन १५ मा अटलान्टाको मर्सिडीज–बेन्ज स्टेडियममा केप भर्डेले जब स्पेनविरुद्धको खेल शुरू गर्नेछ, तब विश्वको नजर यो सानो टापुमाथि केन्द्रित हुनेछ ।

धेरैको प्रश्न छ, स्पेनका विश्वस्तरीय स्टारहरूका अगाडि केप भर्डेको रक्षापँक्ति कतिन्जेल टिक्ला ? तर, टोलीलाई यसको कुनै चिन्ता छैन ।

प्रशिक्षक बुबिस्ता दृढ छन्, ‘हामी इतिहासको सम्मान गर्छौँ तर, मैदानमा हामी स्पेनको नाम होइन, आफ्नो देशको गौरवका लागि लड्नेछौँ । फुटबलमा ठूला–साना हुँदैनन्, नतिजा मैदानले दिन्छ ।’

केप भर्डेको सपना : असम्भव केही छैन 

विश्वकपको समूहगत चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियाजस्ता दिग्ग्ज टोलीहरूसँगको भिडन्त केप भर्डेका लागि ‘फायर टेस्ट’ हुनेछ ।

तर, यो सानो राष्ट्रले विश्वलाई एउटा ठूलो सन्देश दिइसकेको छ, ‘यदि आत्मविश्वास बलियो र भिजन स्पष्ट छ भने पाँच लाखको जनसंख्याले पनि आठ अर्बको विश्वलाई स्तब्ध: बनाउन सक्छ ।

अहिले केप भर्डेका गल्लीहरूमा मानिसहरू भन्छन्, ‘हामी विश्वकप जित्न नजाऔँला, तर हामी विश्वकप जितेर फर्कने बाटो भने  पक्कै कोरेर फर्कने छौँ ।’ साँचो अर्थमा, केप भर्डेले फुटबलको महासागरमा यस्तो छाल ल्याएको छ, जसले ठूला राष्ट्रहरूको घमण्डलाई चुनौती दिने पक्का छ ।

‘ब्लू सार्क’का मुख्य हतियार

केप भर्डेको ऐतिहासिक विश्वकप यात्रामा केही यस्ता खेलाडीहरू छन्, जसको अनुभवले टोलीलाई ‘अन्डरडग’ को छविबाट बाहिर निकालेर प्रतिश्पर्धी टोलीका रूपमा उभ्याएको छ । तिनैमध्येका एक हुन्, रायन मेन्डेस ।

केप भर्डेका ‘लिभिङ लिजेन्ड’ ३६ वर्षीय रायन मेन्डेस फुटबल इतिहासमा सर्वाधिक सम्मानित नाम हो । उनी टोलीका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीका लागि(२२ गोल गरिसकेका छन् ।

उनी देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् । उनले हालसम्म ९२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

null

मेन्डेसको क्लब फुटबलको अनुभव पनि निकै फराकिलो छ । फ्रान्सको ले हाभ्र र लिलेजस्ता प्रतिष्ठित क्लबदेखि इङ्ल्यान्डको नटिङ्घम फरेस्ट र मध्यपूर्वका शारजाह, कायसेरिसपोर, अल नासरजस्ता क्लबहरूमा उनले लामो समय बिताएका छन् ।

उनले अफ्रिकन कप अफ नेसन्सका थुप्रै संस्करण पनि खेलिसकेका छन् । त्यसैले, ठूला प्रतियोगिताको दबाब कसरी झेल्ने भन्ने कुरामा उनी टोलीका लागि मार्गदर्शक पनि हुन् ।

यसका अतिरिक्त, विश्वकप छनोटदेखि महादेशीय छनोट चरणसम्म उनले टोलीका लागि निरन्तर गोल पनि गर्दै आएका छन् ।

त्यसैले उनको यो अन्तर्राष्ट्रिय अनुभवले आगामी विश्वकपको कठिन समूहमा रहेको केप भर्डेलाई ठूलो राहत दिने अनुमान गरिएको छ । ३६ वर्षको उमेरमा पनि उनको फिटनेस र मैदानभित्रको सक्रियता टोलीका युवा खेलाडीहरूका लागि पनि प्रेरणाको स्रोत बन्नेछ ।

रायन मेन्डेसजस्ता अनुभवी खेलाडीहरूको नेतृत्वमा रहेको केप भर्डेको अग्रपँक्तिले विश्वकपमा स्पेन र उरुग्वेजस्ता टोलीको डिफेन्सलाई कस्तो चुनौती दिन्छ, त्यो हेर्न लायकको हुनेछ ।

समग्रमा, मेन्डेस केवल एक क्षमतावान खेलाडीमात्र होइनन्, उनी केप भर्डेका लागि आशाको त्यो दियो हुन् जसले पाँच लाख जनसंख्या भएको यो सानो टापु राष्ट्रको सपनालाई विश्वकपको मञ्चसम्म डोर्‍याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्