
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध विमानस्थल चल्न नसकेका कारण निजगढ विमानस्थल सम्बन्धमा सतर्क हुनुपर्ने बताएका छन् । निजगढलाई कुन मोडालिटीमा लैजाने भन्ने तय नभई हात हाल्ने अवस्था नरहेको उनको भनाइ थियो ।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा वाग्लेले निजगढमा हात हाल्न सतर्क हुने अवस्था रहेको बताएका हुन् ।
'काठमाडौं-तराई फास्ट ट्रयाकलगायत राष्ट्रिय महत्त्वका ठूला पूर्वाधारलाई बजेटमा महत्त्व दिन्छौं नै । फास्ट ट्रयाक तराई–मधेश–काठमाडौं घुमाउने बाटोलाई छोट्याउनु पनि ठूलो रूपान्तरणकारी योजना हो,' वाग्लेले भने, 'यसलाई अन्तर्राष्ट्रिय विमानस्थलसँग गाँसेर हेर्दा अर्को पुस्ताका लागि चमत्कारी आयोजना बन्न सक्छ । लक्ष्य त्यतातिर छ, निजगढलाई कसरी कुन मोडालिटीमा अगाडि गर्ने हो सरकारको राजस्वबाट कि ? दशकौं लिजमा दिएर गर्ने हो कि ?'
ऋण लिएर बनाइएका विमानस्थल सञ्चालनमा आउन नसकेका कारण निजगढमा विमानस्थल बनाउन अलिकति सतर्क हुने अवस्था आएको उनले बताए ।
'पोखरा बनायौं ऋण लिएर, लुम्बिनी बनायौं ऋण लिएर । ऋण थोपरियो बनेका विमानस्थल सञ्चालनमा आउन सकेको छैनन् । बनिसकेका क्षेत्रीय समेत सञ्चालनमा नआएको अवस्थामा खर्बौं लगानी गरेर निजगढमा हात हाल्न यसअघिका सरकार पनि हिम्मत गरेका थिएनन् । तर, कुन मोडालिटीमा लैजाने भन्ने तय गर्नेछौं,' वाग्लेले भने ।
फरक प्रसंगमा उनले स्वास्थ्य बीमा पुनर्संरचना नगरी यथास्थितिमा सञ्चालन गर्ने अवस्था नरहेको बताए । सरकारले जेठ १५ गते नयाँ बजेट ल्याउँदैछ ।