
जुम्लाको पातारासी गाउँपालिका, वडा नम्बर १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ ।
उनीविरुद्ध शुक्रबार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
सहायक प्रवक्ता अधिकारीका अनुसार न्यौपानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकोले छानबिन गरी कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा न्यौपानेले श्री गंगा माध्यमिक विद्यालय, माथाचौर पेरेमा माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति पाउनको लागि त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएको थियो ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।