२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

नेतृत्व छाड्ने कुरा बैठकमा उठेपछि रिसाए ओली, प्रधानन्यायाधीशलाई ३९ बुँदे ध्यानाकर्षणपत्र

जेठ ९, २०८३
काठमाडौं
नेतृत्व छाड्ने कुरा बैठकमा उठेपछि रिसाए ओली, प्रधानन्यायाधीशलाई ३९ बुँदे ध्यानाकर्षणपत्र

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

नेकपा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

ओलीकै निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।

नेताहरूको कार्यविभाजनलगायतका प्रस्तावमाथि छलफल गर्न बसेको सचिवालय बैठकमा बोलेका ५ मध्ये ४ जनाले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् । 'आज उपाध्यक्षहरूले बोल्ने क्रम सकियो, रामबहादुर थापा बाहेक अरू सबैले ओलीले नेतृत्व छाड्नुपर्ने कुरा राख्नुभयो,' एक पदाधिकारीले लोकान्तरसँग भने ।

नेतृत्व छाड्न प्रस्ताव गरेपछि ओली नेताहरूसँग फायर भएका थिए । उनले धम्कीको भाषा बोलेको भन्दै उपाध्यक्ष गुरुङले आपत्ति जनाएका थिए ।

००००

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूविरुद्ध दर्ता भएको अभियोगपत्रमा संशोधन गर्दै 'संगठित अपराध' र 'सम्पत्ति शुद्धीकरण'को दाबी हटाउन सरकारलाई अनुमति दिएको छ ।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार उक्त आदेश गरेको हो ।​ अदालतको आदेशसँगै रवि लामिछाने, गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशीलगायतका प्रतिवादीहरूविरुद्ध दर्ता गरेको तीनवटा फरक-फरक मुद्दामा अब 'सहकारी ठगी'को अभियोग मात्र कायम रहनेछ ।

अभियोगपत्रमा यसअघि दाबी गरिएका 'संगठित अपराध' र 'सम्पत्ति शुद्धीकरण'सम्बन्धी कसुरहरू अब नलाग्ने गरी संशोधन गरिएको छ ।

अदालतले पीडित बचतकर्ताहरूको रकम सहज र छिटो फिर्ता दिलाउनु मुख्य विषय भएको ठहर गरेको छ ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता जटिल कानूनी प्रक्रियाले पीडितले आफ्नो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र ढिलो हुन सक्ने आदेशमा उल्लेख छ ।

यसअघि २०८१ साल वैशाख ३० गतेको निर्णयले प्रतिवादी रवि लामिछानेको हकमा मात्र संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने भनिएको थियो ।

००००

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन् ।

००००

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई  पक्राउ गरेको हो ।

००००

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ ।

००००

प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी दिए ।

००००

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

 बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले शुक्रबार प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।

००००

भूमि, व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सरुवासम्बन्धी निर्णय गरेको छ ।

मन्त्रालयले जेठ ७ गते १६ जना र जेठ ८ गते ६१ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो । ७ गतेको निर्णयअनुसार १६ जना उपसचिवहरूको सरुवा भएको छ ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग मिलेर काम गर्ने पक्षमा कांग्रेस रहेको बताएका छन् ।

सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा शुक्रबार नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

००००

सजिलमान शाक्यलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन ललितपुरस्थित होटल स्क्वायरलाई उपभोक्ता अदालतले आदेश गरेको छ ।

उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले शुक्रबार फैसला सुनाउँदै उक्त आदेश गरेको हो ।

उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार शुक्रबार अदालतले उक्त मुद्दामा वादीलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन होटल स्क्वायरका नाममा आदेश जारी गरिएको हो ।

००००

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।

गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै प्रसाईंको तर्फबाट दाएर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले परमादेश समेत जारी गरेको हो ।​​

००००

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्