२८ जेठ २०८३, बिहीबार
सांस्कृतिक सम्बन्धकी सेतु

लिम्बू भाषाको सुगन्ध फैलाउने ‘श्रेष्ठकी छोरी’

जेठ ९, २०८३
विराटनगर
लिम्बू भाषाको सुगन्ध फैलाउने ‘श्रेष्ठकी छोरी’

पूर्वी पहाडको सुन्दर जिल्ला इलाम । चियाबारीको हरियाली र कुहिरोको लुकामारीबीच एउटा यस्तो स्वर सुनिन्छ, जो सुन्दा कुनै रैथाने लिम्बू समुदायको सदस्यजस्तो लाग्छ । तर, त्यो मीठो लिम्बू लवजका पछाडि नेवार समुदायकी एक छोरी छिन्, नरमाया श्रेष्ठ ।

उनी पेसाले उच्च अदालत विराटनगर, इलाम इजलासकी अधिकृत स्तरकी कर्मचारी हुन् ।  तर, उनको परिचय यतिमा मात्र सीमित छैन ।  उनी त नेवार र लिम्बू समुदायबीचको एउटा बलियो सांस्कृतिक सेतु हुन्, जसले आफ्नै मिहिनेतले लिम्बू भाषा र संस्कृतिमा आफूलाई समाहित गराएकी छन् ।

नरमायाको बाल्यकाल तेह्रथुममा बित्यो, जहाँ लिम्बू समुदायको बाहुल्यता थियो । छिमेकी, साथीसंगी र गाउँको वातावरण नै लिम्बू संस्कृतिले ओतप्रोत थियो ।  सानैदेखि लिम्बू भाषाका शब्दहरू उनका कानमा ठोकिन्थे । उनलाई आफ्नो मातृभाषासँगै लिम्बू भाषाले आकर्षित गर्‍यो । 

यो केवल रहर मात्र थिएन, यो त उनले टेकेको माटो र संगतको प्रतिफल थियो ।  उनको भाषिक यात्राले तब औपचारिक मोड लियो, जब उनले पाँचथरको ‘सत्यहाङ्मा माध्यमिक विद्यालय’मा कक्षा ११ र १२ मा लिम्बू भाषा नै विषयका रूपमा पढ्ने निर्णय गरिन् । 

२०६८/६९ सालतिरको कुरा हो, उक्त विद्यालयमा लिम्बू भाषाको औपचारिक पठनपाठन भर्खरै शुरू भएको थियो ।  नरमाया सम्झिन्छिन्, ‘सायद म त्यो विद्यालयको लिम्बू भाषा पढ्ने पहिला ब्याचको विद्यार्थी थिएँ ।’ 

एउटा गैरलिम्बू विद्यार्थीले लिम्बू भाषालाई नै मुख्य विषय बनाएर पढ्नु त्यतिबेलाको समाजका लागि एउटा अनौठो तर सकारात्मक उदाहरण थियो ।

कलेजको पढाइसँगै नरमायाको परिचय सञ्चार जगतसँग जोडियो ।  उनी तेह्रथुमको मेन्छायोम सामुदायिक रेडियोमा आबद्ध भइन् ।  रेडियोको माइक्रोफोन अगाडि बसेर लिम्बू भाषामा कार्यक्रम चलाउनु उनका लागि ठूलो चुनौती र अवसर दुवै थियो ।  उनले रेडियोमा ‘पेन्जेरीफुङ’ नामक पाक्षिक कार्यक्रम चलाउन थालिन् ।  

रेडियोमा उनको मुख्य काम लिम्बू भाषाका समाचार वाचन गर्ने र कार्यक्रममार्फत स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्ने हुन्थ्यो । नेवारकी छोरीले रेडियोमा धाराप्रवाह लिम्बू भाषा बोलेको सुनेर धेरै श्रोताहरू अचम्ममा पर्थे ।  कतिपयले त उनलाई ‘नरमाया लिम्बू’ नै भनेर ठान्थे । नरमाया भन्छिन्, ‘कतिपय श्रोताहरूले त फोनै गरेर भाषाका कठिन शब्दहरूको अर्थ सोध्नुहुन्थ्यो ।  म सधैँ साथमा प्रज्ञा प्रतिष्ठानले छापेको लिम्बू शब्दकोश बोकेर हिँड्थेँ ताकि कसैले सोध्दा गलत उत्तर दिनु नपरोस् ।’ 

धनकुटा, पाँचथर र तेह्रथुमका कुनाकाप्चाबाट श्रोताहरूले उनलाई माया गर्थे । कतिपयले पछि प्रत्यक्ष भेट्दा मात्र उनी श्रेष्ठकी छोरी हुन् भन्ने थाहा पाउँथे । उनको यो सक्रियताले लिम्बू समुदायभित्र मात्र होइन, अन्तर–सांस्कृतिक सद्‌भाव पनि ठूलो टेवा पुर्‍याएको थियो ।

कुनै पनि भाषा सिक्नु र त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्नु सहज छैन ।  नरमायाका अनुसार, पछिल्लो समय लिम्बू भाषामा पनि अन्य भाषाको प्रभाव बढ्दै गएको छ । 

‘अहिले ठेट लिम्बू भाषा बोल्ने चलन कम हुँदै गएको छ । धेरैजसोले नेपाली शब्दलाई लिम्बू टोनमा ढालेर बोल्नुहुन्छ’, उनी भन्छिन् । उनलाई भाषाको शुद्धता र पुस्तान्तरणको चिन्ता छ । रेडियो कार्यक्रम चलाउँदा उनले जहिले पनि शब्दहरूको सही चयन र अर्थमा ध्यान दिइन् ।  

स्थानीय भाषाको प्रवर्द्धनका लागि उनले गरेको यो योगदानलाई कदर गर्दै किरात याक्थुङ चुम्लुङले उनलाई केन्द्रीय सभामा सम्मानित समेत गर्‍यो ।  यो सम्मान कामका लागि केवल एउटा प्रमाणपत्र मात्र थिएन, बरु उनको भाषिक साधनाको एउटा ठूलो स्वीकारोक्ति थियो ।

null

नरमायाले कानूनमा स्नातक गरिन् र न्याय सेवामा प्रवेश गरिन् । अहिले उनी उच्च अदालत इलाममा अधिकृतका रूपमा कार्यरत छिन् । मधेशका जिल्लाहरूमा काम गर्दा उनले त्यहाँका स्थानीय भाषाहरू पनि बुझ्ने र बोल्ने प्रयास गरिन् ।  तर, लिम्बू भाषासँगको उनको सामीप्य भने अझै उत्तिकै गाढा छ । 

अदालतमा आउने सेवाग्राहीहरू, जो लिम्बू भाषामा मात्र सहज हुन्छन्, उनीहरूका लागि नरमाया एउटा सहारा बन्न सक्छिन् ।  उनी भन्छिन्, ‘यदि सेवाग्राहीले आफ्नै भाषामा समस्या राख्न पायो र कर्मचारीले पनि त्यही भाषामा बुझाइदियो भने न्याय सम्पादनमा अझै सहजता हुन्छ ।’ 

कार्यालयमा आउने सेवाग्राहीको भाषा बुझ्ने कर्मचारी भएमा उसलाई आफ्नो कुरा राख्न अवश्य सहज हुने उनको भनाइ छ । यद्यपि, हालको कार्यव्यस्तताले उनलाई आफ्नो भाषिक रुचिलाई निरन्तरता दिन केही कठिन भएको छ, तर उनको लगाव भने मरेको छैन ।

नरमायाको भाषिक दख्खल केवल बोल्ने र सुनाउनेमा मात्र सीमित रहेन । उनले लिम्बू भाषाको शैक्षिक विकासमा पनि हात हालिन् । उनले कक्षा ५ को लिम्बू भाषाको पाठ्यक्रमका लागि कथाहरू लेखेर योगदान दिएकी छन् । तत्कालीन समयमा पाठ्यक्रम विकास केन्द्रको समन्वयमा उनले आफ्नो सिर्जनात्मक सीपलाई भाषा विकासमा लगाएकी थिइन् ।  यद्यपि, त्यो पाठ्यक्रम हाल पूर्ण रूपमा कार्यान्वयनमा छ वा छैन भन्नेमा उनी अहिले कार्यक्षेत्र बाहिर भएकाले अद्यावधिक छैनन्, तर उनले छोडेको छाप भने मेटिने छैन ।

एक नेवार समुदायको व्यक्तिले लिम्बू भाषालाई यसरी आत्मसात गर्नुले नेपालको बहुभाषिक र बहुसांस्कृतिक सुन्दरतालाई झल्काउँछ । अहिले उनी आफ्नो करिअरमा व्यस्त छिन् ।  न्याय सेवाको उच्च पदमा पुग्ने उनको सपना छ । तर, ती सबै व्यस्तताकाबीच पनि उनीभित्रको ‘लिम्बू भाषाको अभियन्ता’ जीवितै छ । 

उनी भन्छिन्, ‘समयले साथ दियो भने फेरि भाषाकै क्षेत्रमा केही गर्ने रहर छ । इन्डियाको सिक्किमतिरबाट पनि केही साथीहरूले भाषाका विषयमा सम्पर्क गरेको उनको भनाइ छ । तर आफूले समय दिन नसकेर नगएको नरमाया बताउँछिन् ।

नरमाया श्रेष्ठ आज धेरैका लागि प्रेरणा हुन् र  उनी केवल अदालतकी कर्मचारी मात्र होइनन्, उनी त नेपाली माटोमा फुल्ने त्यस्तो फूल हुन् जसको सुगन्धले दुई फरक समुदायलाई एउटै मालामा उनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्