
फिफा विश्वकपको १० औं संस्करण सन् १९७४ को जुन १३ देखि जुलाई ७ तारिखसम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगिताका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो ।
यो विश्वकपमा पनि १६ वटा टोलीले सहभागिता जनाएका थिए । एसिया तथा ओसेनिया क्षेत्रबाट अस्ट्रेलियाले सहभागिता जनाएको थियो । अफ्रिकाबाट भने जाइरले भाग लिएको थियो । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व हाइटीले गरेको थियो ।
यसैगरी, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिलीले भाग लिएका थिए । युरोपबाट बुल्गेरिया, पूर्वी जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, स्कटल्यान्ड, स्वीडेन, पश्चिम जर्मनी र युगोस्लाभिया सहभागी थिए ।
अस्ट्रेलिया, जाइर, हाइटी र पूर्वी जर्मनीको पुरुष फिफा विश्वकपमा यो पहिलो सहभागिता थियो । अन्य टोलीले भने यसअघि पनि विश्वकप खेलिसकेका थिए । ब्राजिल साविक विजेता र पश्चिम जर्मनी आयोजकका रूपमा सहभागी भएका थिए ।
सन् १९७२ को म्युनिख ओलम्पिकमा भएको भयानक नरसंहारको घाउ सेलाउन नपाउँदै पश्चिम जर्मनीले विश्वकपको यो संस्करण आयोजना गर्दै थियो ।
म्युनिख ओलम्पिक घटनाको दुई वर्षपछि नै पश्चिम जर्मनीले यो विश्वकप आयोजना गर्ने जिम्मा पाएकाले सुरक्षा व्यवस्था आयोजकका लागि सबैभन्दा ठूलो चुनौतीको विषय बनेको थियो । विश्वकपको यो विश्व फुटबललाई नयाँ युगमा प्रवेश गराएको थियो ।

‘टोटल फुटबल’को उदय र क्रुफको जादू
विश्वकपको यो संस्करण फुटबल इतिहासको एउटा यस्तो अध्याय पनि हो, जसले फुटबल खेल्ने शैली मात्र बदलेन, ट्रफीको स्वरूपमा पनि नयाँ युगको शुरूआत गरेको थियो ।
यो विश्वकपको सबैभन्दा ठूलो आकर्षण डच टोलीको ‘टोटल फुटबल’ थियो । जोहान क्रुफको नेतृत्वमा रहेको टोलीले मैदानमा खेलाडीको निश्चित स्थानको अवधारणालाई नै तोडिदिएको थियो ।
डच टोली मैदानमा विपक्षीलाई फनफनी घुमाउँदै जसरी प्रस्तुत भयो, त्यसले विश्व फुटबललाई नै चकित पारेको थियो ।
यद्दपि, ब्राजिल र नेदरल्यान्ड्सबीचको दोस्रो चरणको भिडन्त भने अत्यन्तै शारीरिक र आक्रामक थियो । जसलाई इतिहासले अहिले पनि ‘टोटल फुटबल’को कठिन परीक्षाको रूपमा सम्झिन्छ ।

नयाँ ढाँचा र राजनीतिक हलचल
यो विश्वकपमा फिफाले नितान्त फरक ढाँचा अपनाएको थियो । पहिलो चरणपछि नकआउट (क्वार्टरफाइनल/सेमिफाइनल)को साटो दोस्रो समूह चरण खेलाइएको थियो ।
दोस्रो चरणमा पनि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दोस्रो समूह चरणको विजेताले फाइनल र उप–विजेताले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने नियम थियो ।
यो संस्करणमा विश्व राजनीतिको प्रभाव पनि फुटबल मैदानमा प्रष्ट देखिन्थ्यो । समूह–१ को सबैभन्दा बहुप्रतिक्षित खेलमा दुई जर्मनी (पश्चिम र पूर्वी) आमने–सामने थिए ।
उक्त खेलमा पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई १–० गोलले हराएको थियो । अन्तत: त्यो हार नै आयोजक पश्चिम जर्मनीका लागि ‘वेक–अप कल’ सावित भयो । त्यो हारले पश्चिम जर्मनीको टोलीलाई आगामी खेलमा सुधार ल्याउन ठूलो मद्दत पुर्यायो ।

ट्रफीको नयाँ अध्याय
सन् १९७० को उपाधि जित्दै ब्राजिलले ‘जुल्स रिमेट ट्रफी’ सधैँका लागि आफ्नो बनाइसकेको थियो । त्यसैले, सन् १९७४ को विश्वकपका लागि फिफाले नयाँ ट्रफी तयार पारेको थियो ।
सिल्भियो गाजाडिगाद्वारा डिजाइन गरिएको १८ क्यारेट सुनको त्यो नयाँ विश्वकप ट्रफीको तल्लो भागमा ‘मलाकाइट’ पत्थर जडिएको थियो ।
ट्रफीको विषयलाई लिएर फिफाले नयाँ नियम पनि बनाएको थियो । नयाँ नियमअनुसार, आगामी दिनमा कुनै पनि देशले यो ट्रफी सधैंका लागि आफ्नो बनाउन नपाउने भएका थिए ।

अस्तव्यस्त ब्राजिल र उदाउँदो नेदरल्यान्ड्स
सन् १९७० को विश्वकपमा उत्कृष्ट लयमा रहेको ब्राजिलका लागि सन् १९७४ को संस्करण भने सुखद रहेन । पेलेको सन्यास र केही प्रमुख खेलाडीको चोटले थलिएको साविक विजेता ब्राजिलको प्रदर्शनमा ‘साम्बा’ जादूभन्दा पनि आक्रामक रुखोपन बढी देखिएको थियो ।
अर्कोतिर, नेदरल्यान्ड्सले विश्व फुटबलमा ‘टोटल फुटबल’ को नयाँ शैली पस्किएको थियो । जोहान क्रुफको कप्तानीमा रहेको डच टोली यति प्रभावशाली थियो कि फाइनलअघि एक खेल पनि हारेको थिएन । सन् १९३८ पछि पहिलो पटक विश्वकपमा फर्किएको डच टोलीको कलात्मक खेलले सबैको मन जितेको थियो ।

फाइनलको नाटकीय शुरूआत
फाइनलमा आयोजक पश्चिम जर्मनी र नेदरल्यान्ड्स आमने–सामने थिए । खेलको शुरूआत यति नाटकीय थियो कि, जर्मन खेलाडीहरूले बल छुन नपाउँदै नेदरल्यान्ड्सले पेनाल्टी पाएको थियो ।
म्युनिखस्थित ओलम्पिया स्टेडियममा भएको फाइनलको पहिलो मिनेटमै जर्मन खेलाडीले डच टोलीका जोहान क्रुफलाई लडाएपछि नेदरल्यान्ड्सले त्यो पेनाल्टी पाएको थियो ।
सोही अवसरलाई सदुपयोग गर्दै जोहान निस्केन्सले गोल गरेर नेदरल्यान्ड्सलाई शुरूआती अग्रता दिलाएका थिए, त्यो पनि जर्मन खेलाडीले बल छुनुअघि नै ।
खेलको शुरूमै १–० गोलले पछि परेको पश्चिम जर्मनीका लागि त्यो निकै कठिन क्षण थियो । हेल्मट शोनको प्रशिक्षणमा रहेको पश्चिम जर्मनीको फाइनलसम्मको बाटो पनि सहज थिएन ।
त्यसैले फाइनलमा पश्चिम जर्मनी कुनै पनि हालतमा हार मान्ने पक्षमा थिएन । खेलको २६ औं मिनेटमा प्राप्त विवादित पेनाल्टीमा जर्मनीका पाउल ब्रेटनरले बराबरी गोल फर्काए ।

त्यसपछि खेलको ४३ औं मिनेटमा विश्व फुटबलका महान् स्ट्राइकर गर्ड मुल्लरले गोल गरे । त्यो गोल मुल्लरको अन्तर्राष्ट्रिय करियरको अन्तिम र सम्भवत: सबैभन्दा महत्त्वपूर्ण गोल थियो ।
मुलरले उक्त गोलसँगै विश्वकप फुटबलमा आफ्नो व्यक्तिगत गोल संख्या १४ पुर्याउँदै जस्ट फन्टेनको कीर्तिमान पनि तोडेका थिए ।
घरेलु मैदान र अपार दर्शकको साथ पाएको पश्चिम जर्मनीले अन्तत: २–१ गोलको जित निकाल्दै विश्व विजेताको ताज पहिरिएको थियो ।
यो विश्वकपमा पोल्यान्ड तेस्रो भएको थियो । पोल्यान्डले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिललाई पराजित गरेको थियो ।
समग्रमा, सन् १९७४ को यो विश्वकपको कथा ‘टोटल फुटबल’को उदय र पश्चिम जर्मनीको अनुशासनले भरिएको जितका रूपमा इतिहासका पानामा स्वर्ण अक्षरले दर्ता भएको छ ।
१० औं विश्वकपसँग जोडिएका केही रोचक कथा :
० स्कटल्यान्डको विडम्बना : स्कटल्यान्ड इतिहासकै पहिलो यस्तो टोली बन्यो, जो कुनै पनि खेल नहारी प्रतियोगिताबाट बाहिरिएको थियो ।
० विदेशी क्लबका खेलाडी : गुन्टर नेट्जर रियल म्याड्रिडबाट खेल्ने पहिलो विश्वकप विजेता खेलाडी बने । त्यतिबेलासम्म विजेता टोलीका सबै खेलाडी घरेलु लिगकै हुन्थे ।
० अतिरिक्त समयको संयोग : सन् १९३०, सन् १९५० र सन् १९६२ पछि यो चौथो त्यस्तो विश्वकप थियो, जसमा कुनै पनि खेलमा अतिरिक्त समयको आवश्यकता परेन ।
० पोल्यान्डका लाटोको उपलब्धि : यो विश्वकपमा पोल्यान्डका ग्रेगोज लाटो सात गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए ।

० पहिलो सहभागिता : सन् १९७४ को विश्वकपमा अस्ट्रेलिया, पूर्वी जर्मनी, हाइटी र जायरले पहिलोपटक सहभागिता जनाएका थिए ।
० रमाइलो ढाँचा : यो विश्वकपमा क्वार्टरफाइनल वा सेमिफाइनलको साटो दुई चरणको समूह चरण खेलाइएको थियो ।
० गोलको वर्षा : यो विश्वकपमा ३८ खेलमा कूल ९७ गोल भएको थियो । यो विश्वकपमा औसतमा प्रतिखेल २.५५ गोल भएको थियो ।
० अनुशासन : विश्वकप अवधिभर रेफ्रीहरूले पाँचवटा रातो कार्ड र ८३ वटा पहेँलो कार्ड प्रयोग गरेका थिए ।
पढ्नुहोस् यो पनि :
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म
दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान