२८ जेठ २०८३, बिहीबार
अमेरिका-इरान द्वन्द्व

होर्मुज खोल्न इरान–अमेरिका सम्झौता नजिक, ट्रम्पले भने- छिट्टै घोषणा हुन्छ

जेठ १०, २०८३
काठमाडौं
होर्मुज खोल्न इरान–अमेरिका सम्झौता नजिक, ट्रम्पले भने- छिट्टै घोषणा हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘लगभग अन्तिम चरण’ मा पुगेको बताएका छन् । 

उक्त सम्झौतामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने होर्मुज जलडमरू पुनः खुलाउने विषय पनि समावेश रहेको उनले जनाएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिका, इरान र अन्य सम्बन्धित देशबीच शान्तिसम्बन्धी समझदारीपत्रमा सहमति नजिक पुगेको उल्लेख गर्दै सम्झौताका अन्तिम प्रावधान र विवरणमाथि छलफल भइरहेको र छिट्टै सार्वजनिक गरिने बताएका हुन् ।

उनले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत देशका नेतासँग ‘शान्तिसम्बन्धी समझदारी’ विषयमा सकारात्मक संवाद भएको पनि दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र अन्य सम्बन्धित देशहरूबीच अन्तिम रूप दिन बाँकी रहे पनि सम्झौता धेरै हदसम्म तय भइसकेको छ ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले यसअघि सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानबीचका धारणा केही नजिकिएको बताएका थिए । तर उनले मुख्य मुद्दाहरूमा सहमति भइहाल्ने अवस्था नरहेको चेतावनी दिँदै अमेरिकी पक्षबाट विरोधाभासी अभिव्यक्ति आएको आरोप लगाए ।​

ट्रम्पका अनुसार अहिले सम्झौताका अन्तिम पक्ष र प्राविधिक विवरणमाथि छलफल भइरहेको छ र त्यसको औपचारिक घोषणा चाँडै गरिनेछ ।

उनले शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि फोन संवाद भएको र वार्ता अत्यन्त राम्रो भएको बताएका छन् ।

यद्यपि ट्रम्पले सम्झौताबारे थप विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् । उनले कुनै पनि सम्झौताले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट पूर्ण रूपमा रोक्ने दाबी गरेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि मध्यपूर्वभर तनाव फैलिएको थियो । त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी सहयोगी खाडी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो ।

अप्रिलको शुरूआतमा युद्धविराम भएपछि वासिङ्टन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता जारी छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बाघाईले पनि शनिबार सरकारी टेलिभिजनमार्फत समझदारीपत्रको चर्चा गर्दै इरानले १४ बुँदे ढाँचामा आधारित सहमति गर्न चाहेको बताएका छन् ।

उनले समझदारीपत्रलाई अन्तिम रूप दिने प्रक्रिया जारी रहेको र त्यसपछि ३० देखि ६० दिनभित्र थप वार्ता गरेर अन्ततः अन्तिम सम्झौतामा पुग्न सकिने बताए ।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार प्रशासन नयाँ सैन्य आक्रमणको तयारीमा रहेको समाचार प्रकाशित गरेपछि वासिङ्टनको वातावरण फेरि तनावपूर्ण बनेको संकेत देखिएको थियो । यद्यपि अन्तिम निर्णय भने नभइसकेको जनाइएको थियो ।

ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै छोरा डोनाल्ड जुनियरको विवाह समारोहमा सहभागी नहुने र यो महत्त्वपूर्ण समयमा वासिङ्टनमै रहने बताएका थिए ।

गत साता ट्रम्पले इरानसँगको युद्धविराम जीवनरक्षक प्रणालीमा टिकेको टिप्पणी गर्दै तेहरानका मागहरूलाई पूर्ण रूपमा अस्वीकार्य बताएका थिए । अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार नाकाबन्दी शुरू भएयता १ सय जहाजको मार्ग परिवर्तन गरिएको, चार जहाज निष्क्रिय बनाइएको तथा २६ मानवीय सहायता बोकेका जहाजलाई आवतजावत अनुमति दिइएको छ ।

सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहतर्फ हुने व्यापारलाई शून्यमा झार्दै इरानमाथि आर्थिक दबाब सिर्जना गर्न अमेरिकी कदम प्रभावकारी भएको दाबी गरेका छन् ।

यसैबीच, इरानले होर्मुज जलडमरू वरपरको क्षेत्र आफ्नो सैन्य नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट हुने सबै आवागमन पर्सियन गल्फ स्ट्रेट अथोरिटीको अनुमति र समन्वयमा मात्रै हुनुपर्ने जनाएको छ ।

तर अमेरिका र उसका खाडी सहयोगी राष्ट्रहरूले इरानको उक्त दाबी अस्वीकार गर्दै जहाजहरूलाई इरानले तोकेका नियम नमान्न निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्