
चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या संशोधन गर्दै ८२ कायम गरिएको छ ।
प्रारम्भिक विवरणमा ९० जनाको मृत्यु भएको बताइए पनि घटनापछिको अव्यवस्थित अवस्थाका कारण संख्या गलत रूपमा सार्वजनिक भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
शुक्रबार राति शान्सी प्रान्तको लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले शुरूमा कम्तीमा ९० जनाको मृत्यु भएको जनाएका थिए ।
संख्या घटाइए पनि यो दुर्घटना सन् २००९ यताकै चीनको सबैभन्दा घातक खानी दुर्घटना बनेको छ । सन् २००९ मा हेलोङजियाङ प्रान्तको सिन्सिङ खानीमा भएको ग्यास विस्फोटमा १०८ जनाको मृत्यु भएको थियो ।
शनिबार राति आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीहरूले प्रारम्भिक मृतक संख्या गणनामा त्रुटि भएको स्वीकार गरेका छन् ।
खानी रहेको चिन्युआन काउन्टीका प्रमुख गुओ सियाओफाङले घटनापछि अवस्था निकै अस्तव्यस्त भएको र कम्पनीसँग कामदारको स्पष्ट विवरण नरहेका कारण शुरूआती संख्या गलत हुन पुगेको बताएका छन् ।
विस्फोट हुँदा खानीभित्र २४७ जना कामदार कार्यरत थिए । अधिकारीहरूका अनुसार हालसम्म दुई जना बेपत्ता छन् भने १२८ जना घाइते भई अस्पतालमा उपचाररत छन् । ३५ जना भने सकुशल रहेका छन् ।
लिउशेन्यु खानी शान्सी तोङझोउ कोल कोकिङ समूहको स्वामित्वमा रहेको छ । दुर्घटनापछि कम्पनीअन्तर्गतका चारवटै खानी बन्द गरिएको छ भने कम्पनीका उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
सरकारी स्वामित्वको ‘पिपुल्स डेली’ पत्रिकाले आइतबार प्रकाशित सम्पादकीयमा उत्पादनभन्दा सुरक्षा प्राथमिक हुनुपर्ने उल्लेख गर्दै विकासलाई सुरक्षाभन्दा माथि राख्ने प्रवृत्ति पूर्ण रूपमा अन्त्य गर्नुपर्ने टिप्पणी गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार तथा खोज तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले घटनाको विस्तृत छानबिन गर्न पनि आदेश दिएका छन् ।
अधिकारीहरूका अनुसार उक्त खानीको वार्षिक उत्पादन क्षमता १२ लाख टन कोइला रहेको छ । चीनले गत वर्ष ४ अर्ब ८३ करोड टन कोइला उत्पादन गरेको थियो, जुन त्यहाँको ऊर्जा क्षेत्रको मुख्य आधार मानिन्छ ।