
प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा निर्माण गरिरहेको आफ्नो सबैभन्दा ठूलो डाटा सेन्टर सन् २०२६ को मध्यसम्म सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) सेवाको विश्वकै ठूलो बजारमध्ये एक भारतमा आफ्नो उपस्थितिलाई बलियो बनाउन कम्पनीले ठूलो लगानी गरिरहेको छ ।
माइक्रोसफ्ट इन्डिया एन्ड साउथ एसियाका अध्यक्ष पुनीत चण्डकले सोयटर्ससँग कुरा गर्दै भारतमा एजुरे क्लाउड सेवा र प्रतिमहिना ३० डलर शुल्क लाग्ने को-पाइलट ३६५ एआई सहायकको अत्यधिक माग रहेको बताए ।
प्रतिस्पर्धी कम्पनीहरू अल्फाबेट र अमेजन झैँ माइक्रोसफ्टले पनि १ अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता र बलियो प्राविधिक जनशक्ति भएका कारण भारतलाई एआईका लागि सम्भावित लाभदायक बजारका रूपमा हेरेको छ ।
कम्पनीले एआईमा गरेको ठूलो लगानीबाट प्रतिफल आउने विश्वास लगानीकर्तालाई दिलाउन भारतको बजार महत्वपूर्ण मानिएको छ ।
माइक्रोसफ्टले गत वर्षको अन्त्यतिर भारतमा १७.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो, जुन एसियामा कम्पनीको सबैभन्दा ठूलो लगानी हो । यसअघि सन् २०२५ को शुरूआतमा कम्पनीले ३ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
यो लगानीअन्तर्गत दक्षिणी प्रविधि केन्द्र हैदरावादमा नयाँ डाटा सेन्टर निर्माण भइरहेको छ । उक्त शहरमा पहिलेदेखि नै माइक्रोसफ्टको उल्लेख्य उपस्थिति रहेको छ ।
चण्डकले डाटा सेन्टर निर्माणलाई तीव्र गतिमा अघि बढाइएको बताउँदै हैदरावादस्थित नयाँ केन्द्र भारतमा माइक्रोसफ्टकै सबैभन्दा ठूलो डाटा सेन्टर हुने जानकारी दिए । तर, यसको वास्तविक क्षमता भने सार्वजनिक गरिएको छैन ।
भारतमा एआई सेवाको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै नयाँ क्षमता विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका कोपाइलट ग्राहकहरूमा भारतीय आईटी कम्पनीहरू Infosys, Cognizant र Tata Consultancy Services रहेका छन् । यी प्रत्येक कम्पनीसँग करिब ५० हजार लाइसेन्स रहेको बताइएको छ ।
चण्डकका अनुसार भारतस्थित माइक्रोसफ्ट टोलीले विश्वव्यापी रूपमा सार्वजनिक गरिने एआई सुविधाहरू विकास गर्न पनि योगदान गरिरहेको छ । कम्पनीले भारतका विभिन्न शहरमा २२ हजारभन्दा बढी कर्मचारी राखेको छ ।
तर, एआईसम्बन्धी प्रविधि विकासका लागि दक्ष जनशक्ति भर्ना गर्न कठिन बन्दै गएको चण्डकले बताए । मागभन्दा आपूर्ति कम भएकाले अहिले प्रतिभाका लागि प्रतिस्पर्धा बढिरहेको उनको भनाइ छ ।
'भारतमा देखिएका चुनौती विश्वका अन्य स्थानका जस्तै हुन्,' उनले भने ।