२४ जेठ २०८३, आइतबार

आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित

जेठ ११, २०८३
काठमाडौं
आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित

 इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । 

ईडन गार्डेन्समा आइतबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रनको बलियो योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकाता १८.४ ओभरमा १६३ रनमै अलआउट हुन पुग्यो । यद्यपि, यी दुवै टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेका थिए ।

दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान केएल राहुलले मुख्य भूमिका खेले । उनले मात्र ३० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६० रनको विष्फोटक पारी खेले । त्यस्तै कप्तान अक्षर पटेलले ३९ रन, डेभिड मिलरले २८ रन र आशुतोष शर्माले अविजित १८ रन जोड्दै टोलीलाई २०० रनको आँकडा पार गराएका थिए । कोलकाताका लागि सौरभ दुबे, वरुण चक्रवर्ती, सुनील नरेन र अनुकूल रोयले समान १-१ विकेट लिए ।

२०४ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ३९ बलमा ६३ रनको संघर्षपूर्ण अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । रोभम्यान पावेलले २९ र मनिष पाण्डेले २५ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकाताको इनिङ्सलाई धरासायी बनाउन कुलदीप यादव र लुङ्गी एनगिडीले घातक बलिङ गर्दै समान ३-३ विकेट लिए । मिचेल स्टार्कले पनि २ विकेट लिए भने अक्षर पटेलले १ विकेट झारे ।

यो हारसँगै कोलकाताले यस सिजनको अन्त्य निराशाजनक हारबाट गरेको छ भने दिल्लीले जितका साथ प्रतियोगिताबाट बिदा लिएको छ । अब मे २६ बाट प्लेअफका खेलहरू सुरु हुनेछन्, जसमा बेङ्गलुरु, गुजरात, हैदराबाद र राजस्थानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्