
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेकपा एमालेले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा झण्डै साढे ९ घण्टासम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता क्रम निर्धारण गरेको छ । जसमा अध्यक्ष ओली पहिलो नम्बरमा रहेका छन् भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो र विष्णु पौडेल तेस्रो वरीयतामा छन् ।
००००
अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत नेकपा एमालेले पार्टी पुनर्गठन सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको कार्यदलमा अधिकांश ओलीको विकल्प खोज्नु पर्ने माग राखेका नेता छन् ।
००००
नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले आइतबार काठमाडौँ निवासी कोइरालालाई तरुण दलको नेतृत्व सुम्पिएका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गरिरहेको समितिले काम तीव्र बनाएको छ ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले अब गुरुङको बयान लिने तयारी गरेको छ । गुरुङको बयान सकेर प्रतिवेदन सरकारलाई बुझाउने समितिको तयारी छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।
स्वीकृत कार्यतालिका अनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ ।
यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश हुनेछन् ।
००००
गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा खटिन र शीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
यसैगरी सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अर्को एक समिति पनि गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
००००
नयाँ संसद् भवनको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । विशेषगरी प्रतिनिधिसभा बैठक कक्षको काम तीव्र गतिमा अघि बढाइएकाले आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण नयाँ भवनबाटै घोषणा हुने सम्भावना बलियो बनेको छ । निर्माण कम्पनी, संसद् सचिवालय र प्राविधिक टोली दिनरात खटिएर काम गरिरहेका छन् ।
००००
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
००००
विपक्षी दलहरूले संसद्मा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष निकालेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतकहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
००००
नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।
कांग्रेसले यही जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने गरी प्रतिष्ठानको तेस्रो बैठक आह्वान गरेको हो ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।