२९ जेठ २०८३, शुक्रबार
शब्दमा अड्कियो शान्ति सम्झौता

कतारमा निर्णायक शान्ति वार्ता, इरानमा अमेरिकी सैन्य कारबाही

जेठ १२, २०८३
काठमाडौं
कतारमा निर्णायक शान्ति वार्ता, इरानमा अमेरिकी सैन्य कारबाही
तेहरानमा इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई चित्रण गरिएको भित्तेचित्रको छेउबाट हिँडिरहेका मानिसहरूतस्वीर : रोयटर्स

इरान-अमेरिका युद्धविराम तथा शान्ति वार्ताकै बीच अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपास रहेका इरानी मिसाइल प्रक्षेपण स्थल तथा समुद्रमा बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै आत्मरक्षाका लागि आक्रमण गरिएको बताएको हो।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले जारी गरेको वक्तव्यमा आफ्ना सैनिकमाथि इरानी बलबाट उत्पन्न खतरा रोक्न उक्त कारबाही गरिएको उल्लेख गरिएको छ । सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार युद्धविराम कायम रहेकै अवस्थामा अमेरिकी सेना संयम अपनाउँदै आफ्ना सैनिकको सुरक्षा गरिरहेको छ।

आक्रमणपछि इरानले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले अमेरिका–इरान वार्तामा केही प्रगति भएको स्वीकार गर्दै शान्ति सम्झौता तत्काल हुने अवस्था नरहेको बताएका छन् । उनका अनुसार छलफलका धेरै विषयमा निष्कर्ष नजिक पुगे पनि सम्झौतामा हस्ताक्षर तत्काल हुन लागेको दाबी कसैले गर्न नसक्ने अवस्था छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने सम्झौता सम्भव रहेको बताएका छन्। कतारमा इरानका शीर्ष वार्ताकार तथा विदेशमन्त्री र कतारी प्रधानमन्त्रीबीच भएको छलफललाई संकेत गर्दै उनले सम्झौताका प्रारम्भिक दस्तावेजमा प्रयोग गरिएका शब्द र वाक्यांशलाई लिएर विवाद भइरहेकाले केही दिन अझ वार्ता चल्ने बताएका हुन्।

भारत भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौता गर्न इच्छुक रहेको बताए। उनका अनुसार ट्रम्पले 'राम्रो सम्झौता वा कुनै सम्झौता नै नगर्ने' अडान लिएका छन्।

रुबियोले होर्मुज खुला रहनुपर्नेमा जोड दिँदै त्यहाँ भइरहेको गतिविधि गैरकानुनी, अस्थिर र विश्वका लागि अस्वीकार्य भएको बताए।

क्याप्टेन हकिन्सका अनुसार अमेरिकी आक्रमण बन्दर अब्बास आसपास गरिएको थियो। बन्दर अब्बास इरानको दक्षिणी बन्दरगाह सहर हो, जहाँ इरानी नौसैनिक अड्डा अवस्थित छ र जुन होर्मुजसँग जोडिएको रणनीतिक क्षेत्र मानिन्छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले यसअघि बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बन्दर अब्बास क्षेत्रमा तीनवटा विस्फोटको आवाज सुनिएको जनाएको छ। पछि जारी अर्को वक्तव्यमा बन्दर अब्बास विमानस्थल नजिक पनि विस्फोट सुनिएको र इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको बताइएको छ। इरानको सरकारी समाचार संस्था इरनाले मध्यराततिर लगातार विस्फोटका आवाज सुनिएको जनाएको थियो।

फार्स समाचार एजेन्सीका अनुसार फारसको खाडीस्थित सिरिक र जास्क आसपास पनि यस्तै आवाज सुनिएको थियो। यसअघि इरानी सेनाले फारसको खाडी क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको थियो।

यसअघि मे महिनाको शुरूमा पनि होर्मुज क्षेत्रमा अमेरिकी र इरानी नौसैनिक जहाजबीच तनावपूर्ण भिडन्त भएको थियो। त्यसका लागि दुवै पक्षले एकअर्कालाई दोष दिएका थिए। अमेरिकी पक्षका अनुसार इरानी मिसाइल, ड्रोन र साना डुंगाबाट अमेरिकी युद्धपोतहरूलाई निशाना बनाएपछि अमेरिकाले इरानी सैन्य संरचनामाथि आक्रमण गरेको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सप्ताहन्तमा दुवै पक्ष सम्झौता नजिक पुगेको संकेत दिएका थिए। तर पछि उनले वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका थिए। रुबियोले सोमबारसम्म सम्भावित सहमति हुन सक्ने बताएका थिए।

हाल छलफलमा रहेको समझदारीपत्रमा ६० दिने युद्धविराम थप गर्ने, होर्मुज पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने योजना समावेश रहेको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी गुप्तचर निकायले इरानका सर्वोच्च नेता मोज्तबा खामेनी गोप्य स्थानमा रहेको विश्वास गरेको छ। उनका पिता तथा पूर्वसर्वोच्च नेता एक इजरायली आक्रमणमा मारिएपछि उनी घाइते अवस्थामा लुकेर बसेकाले अमेरिकी वार्ताकारहरूसँग सम्पर्क सुस्त भएको दाबी गरिएको छ।

वार्तामा इरानमाथिका प्रतिबन्ध हटाउने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्ने तथा इरानको आणविक महत्वाकांक्षा सीमित गर्ने विषय अझै विवादित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्ध शुरू हुँदा इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४४० किलोग्राम युरेनियम रहेको अनुमान गरिएको थियो। यो ९० प्रतिशत शुद्धतामा पुर्‍याइए आणविक बम बनाउन सकिने स्तरमा पुग्ने अमेरिकी दाबी छ।

ट्रम्पले सोमबार राति उक्त प्रशोधित युरेनियम तुरुन्त अमेरिकालाई हस्तान्तरण गरिने वा इरानकै समन्वयमा नष्ट गरिने बताएका थिए। अमेरिकी अधिकारीहरूले नो डस्ट, नो डलर्स भन्ने वाक्यांश प्रयोग गर्दै इरानले उच्च प्रशोधित युरेनियम हटाएपछि मात्र आर्थिक राहत पाउने सन्देश दिएका छन्।

इरानले भने युद्ध अन्त्य गर्ने समझदारीपत्रमा सहमति नभएसम्म युरेनियमसम्बन्धी वार्ता अगाडि नबढ्ने अडान राखेको छ।

अमेरिका र इरानबीच अप्रिल ८ देखि युद्धविराम कायम रहेको छ। यस अवधिमा इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री व्यापारमा नियन्त्रण कायम राखेको छ भने अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दीको प्रयास गरिरहेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण शुरू गरेपछि मध्यपूर्वभर तनाव फैलिएको थियो। त्यसको प्रतिक्रियामा इरानले इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सहयोगी मुलुकमाथि आक्रमण गरेको थियो र प्रभावकारी रूपमा होर्मुज जलडमरूमध्य बन्द गरेको थियो। त्यसपछि विश्वभर तेलको मूल्य तीव्र रूपमा बढेको थियो।

यसैबीच लेबनानमा इजरायलले हिज्बुल्लाहविरुद्ध आक्रमण विस्तार गर्ने तयारी गरेको बताइएको छ। अमेरिकी अधिकारीहरूले इजरायलको रणनीतिप्रति समर्थन जनाएका छन्।

ट्रम्पले मध्यपूर्वका मुलुकहरूलाई युद्ध अन्त्यपछि अब्राहम सम्झौतामा सहभागी हुन अनिवार्य आग्रह गरेको बताएका छन्। उनले साउदी अरेबिया, यूएई, कतार, पाकिस्तान, टर्की, इजिप्ट र बहराइनका नेतासँग यस विषयमा कुराकानी गरेको बताएका हुन्। तर साउदी स्रोतहरूले आफ्नो पुरानो अडान नबदलिएको प्रतिक्रिया दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्