
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाह लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको आरोप लगाएका छन् ।
संसद्लाई निरन्तर उपेक्षा गर्ने र गणतन्त्र दिवसमा सम्बोधन नगर्ने कुराले आशंका बढाएको उनको भनाइ छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखले नियमित कार्यसूची अगाडि बढाउन लागेको विरोधमा समय लिएर बोल्दै महरले बालेन 'खोपीको देउता' बन्न खोजेको आरोप लगाएका हुन् । ‘हामीले संसद्मा प्रधानमन्त्री आएर जवाफ दिनुपर्छ भनेर माग गरिरहेका छौं । उहाँ खोपीको देउता बन्दै हुनुहुन्छ ? सत्तारूढ दललाई सोध्न चाहन्छु प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर घण्टी बजाएर पूजा गर्ने हो ?,’ महरले प्रश्न गरे, ‘लोकतन्त्र र संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’
महरले प्रधानमन्त्री बालनले आएर जनताका प्रश्नको जवाफ नदिँदासम्म संसद् चल्न नदिने बताए । प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समय सकिएर सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई प्रस्ताव पेश गर्न दिएलगत्तै विपक्षी सांसदले उठेर विरोध जनाएका हुन् ।