०९ साउन २०८३, शनिबार

विपक्षी दललाई सभामुखको जवाफ– प्रधानमन्त्री संसद्‌मा आउने तयारी गर्नुभएको छ, जवाफ दिनुहुन्छ

जेठ १२, २०८३
काठमाडौं
विपक्षी दललाई सभामुखको जवाफ– प्रधानमन्त्री संसद्‌मा आउने तयारी गर्नुभएको छ, जवाफ दिनुहुन्छ

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्‌मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका छन् । संसद्‌मा विपक्षी दलले गरेको मागबारे बालेन जानकार रहेको उनले बताए ।​

मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन् ।

'हामी केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौं, प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको जवाफ दिनुपर्‍यो । जुन विषय अत्यन्त जायज छ, जनताको माग पनि त्यही हो । यस विषयमा हामीले विपक्षी दलसँग पटकपटक संवाद गरेका छौं,' सभामुख अर्यालले भने, 'सत्तापक्षसँग पनि संवाद भएको छ । सरकारसँग र स्वयं प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्रीले संसदमा आउने तयारी गर्नुभएको छ । यो भन्दा अगाडि पनि भनेको थिए, सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ ।'

सभामुख अर्यालले प्रधानमन्त्री संसदमा आएर सांसदका जवाफ दिने भन्दै बैठक सुचारु गर्न विपक्षी दलसँग आग्रह गरे । 'हामी कार्यसूचीमा रहेको आजको कार्यक्रम अगाडि बढाऔं । केही दिनमा बजेट आउँदैछ, प्रधानमन्त्रीले प्रश्नको उत्तर दिने तयारी गर्नुभएको छ,' अर्यालले भने ।

यसअघि मंगलबारको बैठकमा सभामुखले संस्कृति मन्त्रीलाई प्रस्ताव पेश गर्न समय दिएलगत्तै विपक्षी दलले उठेर विरोध गरेपछि संसद अवरुद्ध भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्