२४ जेठ २०८३, आइतबार
संसद्‌‌मा कांग्रेस सांसदको आक्रोश

‘सत्तापक्षको दम्भ असह्य भएपछि रोष्ट्रमतर्फ जान लागेको थिएँ, सचेतकले रोक्नुभयो’

जेठ १२, २०८३
काठमाडौं
‘सत्तापक्षको दम्भ असह्य भएपछि रोष्ट्रमतर्फ जान लागेको थिएँ, सचेतकले रोक्नुभयो’

प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयक २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको समयमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरूङ आक्रोशित हुँदै रोष्ट्रमतर्फ अगाडि बढ्दै थिए ।

प्रमुख सचेतक बासना थापाले रोकेर धकेल्दै पछाडिको सीटमा पुर्‍याइन् । प्रमुख सचेतकले धकेल्दै सीटमा पुर्‍याउनु पर्नेगरी किन आक्रोशित भएका थिए कांग्रेस सांसद ?

मंगलबारको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएलगत्तै सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

त्यसपछि विपक्षी दलका सांसद उठेर विरोध जनाए । विपक्षी दलका तर्फबाट सचेतकहरूले प्रधानमन्त्री बालेन शाहको जवाफ खोजेको बताए ।

विपक्षी दललाई सभामुखले प्रधानमन्त्री छिट्टै संसद्‌मा आउन लागेका सूचना दिए । तर, विपक्षी दलले आउने मिति तोक्न माग गरे । सभामुखले मिति तोक्न सकेनन् । विपक्षी दलका सांसद पनि बसेनन् ।

त्यसपछि सभामुखले मन्त्रीलाई प्रस्ताव पेस गर्न दिए । विपक्षी दलको अवरोधका बाबजुद सभामुखले छलफल अगाडि बढाए । रास्वपाका अशोक चौधरीले छलफलमा भाग लिए, विपक्षी सांसदहरू उभिएर विरोध जनाइरहेका थिए ।

जब रास्वपा सांसद जगदीश खरेल रोष्ट्रममा पुगे उनले संसद्‌भित्र ‘तमासा देखाइरहेको’ भन्दै विपक्षी दलप्रति आक्रोश व्यक्त गरे । विपक्षी दलको यही शैलीकै कारण अध्यादेश ल्याउनुपर्ने अवस्था आएको खरेलले टिप्पणी गरे ।

खरेल बोल्दै गर्दा विपक्षी दलले हात उठाएर होहल्ला गरे, यत्तिकैमा कांग्रेस सांसद नरेन्द्र केरूङ आक्रोशित हुँदै रोष्ट्रमतर्फ अगाडि बढेका थिए ।

पछाडिको सीटबाट छिटोछिटो हिँड्दै आएका केरूङलाई प्रमुख सचेतक बासना थापाले रोकेर पछाडि धकेल्दै लगिन् ।

‘हामी मर्यादामै रहेर विरोध गरेका थियौं, तर जगदीश खरेल आएर दम्भ देखाउन थालेपछि असह्य भयो, विपक्षी दललाई हेप्ने काम भयो’, केरूङले लोकान्तरसँग भने, ‘म उहाँ बोलेकै ठाउँ (रोष्ट्रम)मा गएर प्रतिवाद गर्न चाहेको थिएँ । सचेतकले रोक्नु भयो ।’

केरूङ पाँचथरबाट प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद हुन् । उनले विपक्षी दललाई होच्याउने रास्वपा सांसदको शैलीले आफूलाई आक्रोशित तुल्याएको बताए ।

‘बोल्ने माननीयले प्रधानमन्त्रीको प्रतिनिधिजस्तो गरेर बोल्नु भयो, विपक्षीले तमासा गरेको भनेर भन्नुभयो । अध्यादेश ल्याएर सही गरेको र फेरि पनि त्यही गर्न खोजेको जस्तो कुरा गर्नुभयो’, केरूङले भने ।

खरेल बोल्दा होहल्ला भएपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गरे ।  

salt training

कमेन्ट गर्नुहोस्