२२ जेठ २०८३, शुक्रबार

न्यायाधीश श्रीमती समूहद्वारा छात्रवृत्ति प्रदान

पुस २४, २०७४
न्यायाधीश श्रीमती समूहद्वारा छात्रवृत्ति प्रदान

धुलिखेल, २४ पुस-न्यायाधीश श्रीमती समूहद्वारा आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलमा एक कार्यक्रम आयोजना गरी चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । 

न्यायाधीशका श्रीमती मिलेर विसं २०५६ मा स्थापना गरिएको न्यायाधीश श्रीमती समूहले हरेक वर्ष वितरण गर्दै आएको ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत यस वर्ष प्रवेशिका परीक्षा २०७३ मा उत्कृष्टमध्येका चार जना विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको समूहका अध्यक्ष वसन्ता पराजुलीले बताउनुभयो । 

छात्रवृत्ति पाउनेमा काभ्रेपलाञ्चोकका अञ्जन श्रेष्ठ, सिन्धुलीका दिक्षा लामा र प्रतिभा भट्टराई र मुगु जिल्लाका दुर्गा बुढा रहेका छन् । हरेक वर्ष वितरण गर्दै आएको छात्रवृत्ति यस वर्ष भूकम्प अति प्रभावित १४ जिल्ला र पिछडिएका क्षेत्र कर्णाली क्षेत्रका जिल्ला अदालतमा कार्यरत कर्मचारी र कार्यालयमा कार्यरत सहयोगी कर्मचारीका छोरा÷छोरीमध्ये दुई जना छात्रा र दुई जना छात्र गरी चार जनालाई वितरण गरिएको पराजुलीले बताउनुभयो । 

सो समूहले शिक्षा क्षेत्रबाहेक स्वास्थ्यको क्षेत्रमा पनि निःशुल्करुपमा शिविर एवं अन्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश अर्जुन अधिकारीले छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थीको अध्ययनमा थप टेवा पुग्ने उल्लेख गर्नुहुँदै सामाजिक कार्यमा समेत अनुकरणीय कार्य गरेको बताउनुभयो । 

कार्यक्रममा समूहका अध्यक्ष वसन्ता पराजुलीले छात्रवृत्ति प्रमाणपत्रसहित नगद रु १०÷१० हजारका दरले चेक वितरण गर्नुभयो । दुर्गा बुढा भने भौगोलिकरुपमा टाढा भएकाले यसअघि नै रकम र प्रमाणपत्र पठाइसकेको समूहकी कोषाध्यक्ष शान्ती ढकालले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्