ललितपुरमा पछिल्लो समय प्रहरीसमक्ष पुगेका केही घटनाले परिवार, प्रविधि, सम्बन्ध र समाजको बदलिँदो स्वरूपबारे गम्भीर प्रश्न उठाएका छन् ।
मोबाइलको बढ्दो प्रयोग, अभिभावकीय निगरानीको कमी, अन्धविश्वास, वैदेशिक रोजगारीका कारण सिर्जिएको दूरी र किशोरकिशोरीमा बढ्दो भावनात्मक अस्थिरताले समाजमा जटिल समस्या निम्त्याइरहेको प्रहरीको निष्कर्ष छ ।
जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेका यस्ता घटनामध्ये एक घटनाले जो कोहीलाई स्तब्ध बनाउँछ ।
एक आमाले आफ्नी छोरीलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिन् । केही समयदेखि छोरी अस्वाभाविक व्यवहार गरिरहेकी थिइन् । खाना कम खाने, एक्लै बसिरहने र कम बोल्ने जस्ता व्यवहार देखिएपछि आमाले सामान्य स्वास्थ्य समस्या ठानेकी थिइन् ।
तर, स्वास्थ्य परीक्षणपछि चिकित्सकले ती किशोरी ११ हप्ताको गर्भवती रहेको जानकारी दिए । त्यसपछि आमाले छोरीसँग सोधपुछ गर्दा घटनाको वास्तविकता खुलेको थियो ।
किशोरीका अनुसार, एक दिन घरमा बुबाआमा नभएको बेला भाइ मोबाइल चलाइरहेका थिए ।
दिदीले मोबाइल मागेपछि भाइले सर्त राखेको र त्यसपछि कोठाको ढोका लगाएर जबर्जस्ती गरेको बयान प्रहरीसमक्ष आएको थियो ।
डरका कारण किशोरीले लामो समयसम्म घटना कसैलाई बताउन सकेकी थिइनन् ।
पछि आमाले प्रहरीमा उजुरी दिएपछि मुद्दा अदालतसम्म पुगेको थियो । पीडक नाबालक भएकाले बाल सुधार गृह पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार, यस्ता घटनाले बालबालिकामा मोबाइलमार्फत पुग्ने सामग्री, यौन जिज्ञासा र व्यवहारमा आएको परिवर्तनबारे अभिभावक सचेत हुनुपर्ने देखिएको छ ।
यस्तै, ललितपुरमै झारफुकसँग सम्बन्धित घटनाले पनि समाजमा अन्धविश्वास अझै बलियो रहेको देखाएको छ ।
प्रहरीका अनुसार, झारफुक गर्ने एक युवकसँग उपचारका लागि पुगेकी युवतीको चिनजान प्रेममा परिणत भयो । पछि उनीहरूले विवाह गरे र सन्तान पनि जन्मिए । तर, सम्बन्ध बिग्रिएपछि श्रीमती माइतीमा बस्न थालिन् । कानूनी रूपमा सम्बन्ध अन्त्य नभएकै अवस्थामा ती युवकले फेरि अर्की युवतीसँग सम्बन्ध गाँसेर दोस्रो विवाह गरेको आरोप लागेको छ ।
पहिलो श्रीमतीले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अदालतमा पुगेको थियो । उक्त मुद्दा अहिले पनि विचाराधीन छ ।
त्यस्तै अर्को घटनामा, ढाड दुखेको भन्दै झारफुक गराउन जाने क्रममा एक युवक र एक ‘माता’बीच सम्बन्ध विकसित भएको थियो । दुवै सँगै बस्न थाले पनि युवक पहिले नै विवाहित थिए ।
पहिलो श्रीमतीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो । तर दोस्रो सम्बन्धलाई कानूनी रूपमा विवाह प्रमाणित गर्ने आधार नपुगेपछि मुद्दा अदालतसम्म पुग्न सकेन ।
प्रहरी अधिकारीहरूका अनुसार, पछिल्लो समय भावनात्मक असन्तुलन, एक्लोपन र सहजै विश्वास गर्ने प्रवृत्तिका कारण यस्ता सम्बन्ध बढिरहेका छन् ।
वैदेशिक रोजगारीसँग जोडिएको अर्को घटनाले पारिवारिक सम्बन्धमा आएको दूरी उजागर गरेको छ ।
आर्थिक अवस्था कमजोर भएपछि एक व्यक्तिले ऋण खोजेर श्रीमतीलाई दुबई पठाएका थिए । तीन वर्षसम्म दुवैबीच फोन सम्पर्क भइरह्यो र घरमा पैसा पनि आइरहेको थियो ।
तर नेपाल फर्किएपछि ती महिला घर नगई आफन्तकहाँ बस्न थालिन् । श्रीमानले प्रहरीको सहयोग लिएपछि दुवैबीच छलफल गराइएको र सहमतिपछि पुनः सँगै बस्न पठाइएको थियो ।
पछि ती महिला दोस्रोपटक दुबई गइन् । त्यसपछि उनले आफू अर्कै व्यक्तिसँग सम्बन्धमा रहेको जानकारी श्रीमानलाई फोनमार्फत दिएको प्रहरीसमक्षको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार, उक्त घटनापछि ती युवक मानसिक तनावमा परेका छन् । उनले डिप्रेसनको औषधि खाइरहेका छन् ।
यस्तै, पछिल्लो समय किशोरकिशोरी घरबाट भागेर सँगै बस्ने प्रवृत्ति पनि बढ्दो क्रममा रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, उमेर नपुगेका किशोरकिशोरी प्रेम सम्बन्धका कारण घर छाडेर सँगै बस्ने, पछि परिवारले ‘हराएको’ भन्दै उजुरी दिने र खोजीका क्रममा दुवै सँगै भेटिने गरेका छन् ।
तर, कानूनले उमेरलाई प्राथमिकता दिने भएकाले यस्ता घटनामा सहमतिमै सम्बन्ध भएको दाबी गरिए पनि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता हुने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । कतिपय अवस्थामा किशोरी गर्भवतीसमेत भेटिने गरेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, यो अहिले डरलाग्दो सामाजिक ट्रेन्डका रूपमा देखिएको छ । उनका अनुसार किशोरकिशोरी भावनात्मक निर्णय गरिरहेका छन्, तर त्यसको कानूनी र सामाजिक परिणामबारे पर्याप्त सचेत छैनन् ।
प्रहरीका अनुसार, यी अधिकांश घटनामा परिवारभित्र संवादको कमी, मोबाइल र इन्टरनेटको अनियन्त्रित प्रयोग, अन्धविश्वास र सम्बन्धमा कमजोर हुँदै गएको विश्वास मुख्य कारणका रूपमा देखिएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा महिला तथा बालबालिकासम्बन्धी १३४ वटा मुद्दा अदालतमा दर्ता भएका थिए । तीमध्ये घरेलु हिंसा, बलात्कार र बहुविवाहका मुद्दा उल्लेख्य छन् ।
प्रहरीले अभिभावकलाई बालबालिकासँग समय बिताउन, उनीहरूको गतिविधिबारे चासो राख्न र संवाद बढाउन आग्रह गरेको छ ।
हेर्नुहोस्, भिडियो: