२३ जेठ २०८३, शनिबार

आरसीबी लगातार दोस्रो पटक आइपीएल फाइनलमा

जेठ १३, २०८३
काठमाडौं
आरसीबी लगातार दोस्रो पटक आइपीएल फाइनलमा

रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार धर्मशालामा सम्पन्न क्वालिफायर १ को खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले उपाधि नजिकको यात्रा तय गरेको हो ।

यो जितसँगै बैंगलोरका कप्तान रजत पाटीदारले एमएस धोनी र रोहित शर्माजस्ता दिग्गज कप्तानहरूको विशेष सूचीमा आफ्नो नाम लेखाएका छन् । उनी लगातार दुई पटक आईपीएल फाइनलमा टोलीको नेतृत्व गर्ने पाँचौँ कप्तान बनेका छन् । पाटीदारले ब्याटिङमा पनि आफ्नो चमक देखाउँदै अविजित ९३ रनको उत्कृष्ट इनिङ खेले, जसको मद्दतले बैंगलोरले आईपीएल प्लेअफ इतिहासकै सर्वाधिक २ सय ५४ रनको योगफल खडा गरेको थियो । खेलको दौरान पाटीदार २०० छक्का प्रहार गर्ने सबैभन्दा छिटो भारतीय ब्याट्सम्यान समेत बने।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । जवाफमा २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरातको सुरुवात निकै खराब रह्यो । साइ सुदर्शन हिट-विकेट आउट भए भने कप्तान शुभमन गिल मात्र २ रनमा पेभेलियन फर्किए । 

टोलीका लागि राहुल तेवाटियाले ४३ बलमा ६८ रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । अन्ततः गुजरात १९.३ ओभरमा १ सय ६२ रनमा समेटियो । बैंगलोरका लागि डफीले तीन विकेट लिए भने कृणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिक सलामले दुई-दुई विकेट हात पारे।

यो जित आईपीएल प्लेअफको इतिहासमा रनको आधारमा दोस्रो ठूलो जित हो। यसअघि सन् २००८ मा राजस्थान रोयल्स दिल्लीविरुद्ध १ सय ५ रनले विजयी भएको थियो। बैंगलोर कुल पाँचौँ पटक आईपीएल फाइनलमा पुगेको छ। यसअघि टोली २००९, २०११, २०१६, २०२५ र २०२६ मा फाइनलमा पुगेको थियो। साथै, टी-२० क्रिकेटमा बैंगलोरले चौथो पटक २ सय ५० भन्दा बढी रन बनाएर भारत र सनराइजर्स हैदराबादपछि तेस्रो स्थानमा आफूलाई उभ्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्