२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

बालेनले सम्बोधन गर्ने एक साताको भाका, ४५ दिनभित्रै कक्षा १२ को नतिजा

जेठ १३, २०८३
काठमाडौं
बालेनले सम्बोधन गर्ने एक साताको भाका, ४५ दिनभित्रै कक्षा १२ को नतिजा

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

प्रधानमन्त्री वालेन्द्र (बालेन)ले अन्ततः सदनमा सम्बोधन गर्ने भएका छन् ।

विपक्षी दलले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो ।

सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताए । उनले सदनमा भइरहेको अवरोधका विषयमा आफूले मंगलबार पनि प्रधानमन्त्री बालेनको सचिवालय सदस्यहरूसँग कुरा गरेको बताए ।

उनले संसद् वादविवाद नभएर छलफलबाटै समाधान निकाल्ने थलो भएकाले यसमा आफूहरू पनि गम्भीर रहेको बताए ।

००००

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले अधिकार प्रयोग गर्न सभामुखलाई कसले रोक्यो भनेर प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री, मन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार सभामुखलाई भए पनि प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा बोलाउने विषयमा किन रुलिङ नभएको भनेर प्रश्न उठाए ।

००००

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिश भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिश गरेको हो ।

००००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८ जनाले आवेदन परेको हो ।

००००

प्रतिनिधिसभाको मंगलबारको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

००००

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णु देव साहका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै ५ मन्त्रीको शपथ समेत मंगलबार नै भएको छ । मधेसमा नेकपा र एमालेसमेत सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

००००

नेपाल सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव वा सो सरह) कर्मचारीहरूको सरुवा गरेको छ ।

जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रशासन, प्राविधिक र विभिन्न विशिष्टीकृत सेवाका २९ जना वरिष्ठ कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको हो ।

००००

सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ ।

न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो ।

००००

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक विगतभन्दा चाँडो अर्थात् परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको जनाएको छ।

००००

पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार प्रसाईंलाई साधारण तारेखमा छाड्ने आदेश गरेको अदालतका सूचना अधिकारी  जयनारायण यादवले लोकान्तरलाई जानकारी दिए ।

००००

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ।

काठमाडौं महानगरपालिका–३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो।

कमेन्ट गर्नुहोस्