
कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।
सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गरेपछि मर्यादापालकले रोकेका थिए ।
परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गरेको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै मंगलबारदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।
नीति तथा कार्यक्रममा संशोधनको समय नदिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।
सोही क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाको रोस्ट्रममा पुगेर त्यहाँ रहेको माइक भाँच्ने प्रयास गरेका थिए । तर मर्यादापालकले रोकेका थिए ।