३२ असार २०८३, बिहीबार

निजामती किताबखानाको ‘डिजिटल छलाङ’: कर्मचारीलाई घरै बसेर सेवा, हत्केलामै सुविधा

जेठ १४, २०८३
काठमाडौं
निजामती किताबखानाको ‘डिजिटल छलाङ’: कर्मचारीलाई घरै बसेर सेवा, हत्केलामै सुविधा

आफ्नो सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै आएको राष्ट्रिय किताबखाना (निजामती)ले सेवा प्रवाहमा अर्को ठूलो ‘छलाङ’ मारेको छ । 

किताबखानाले विशेषगरी उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि ‘वर्क फ्रम होम, सर्भिस इन द पाम’ (घरैबाट काम, हत्केलामै सेवा)को नयाँ अवधारणा शुरू गरेको हो ।

सम्पत्ति छानबिन आयोग–२०८३ को सूचना अनुसार, उपसचिव वा सोभन्दा माथिका कर्मचारीले एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी दायित्व छ । तर, विवरण बुझाउने म्याद छोटो भएको र यही समयमा सार्वजनिक बिदा पनि धेरै परेकाले कर्मचारीलाई समस्या नहोस् भनेर किताबखानाले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

यस अन्तर्गत अब सेवाग्राही कर्मचारीले आफ्नो कामको लागि कार्यालय धाइरहनु पर्दैन । उनीहरूले आफ्नै मोबाइलमा अर्थात् हत्केलामै सेवा प्राप्त गर्नेछन् ।

बिदाको दिन पनि रोकिने छैन काम

आज जेठ १४ गतेबाट लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । यस्तो समयमा पनि सेवा नरोकियोस् भनेर किताबखानाका ५ जना कर्मचारी स्वैच्छिक रूपमा यो अभियानमा खटिएका छन् । उनीहरूले घरैमा बसेर ल्यापटप र इन्टरनेटको प्रयोग गरी डिजिटल सर्भिस व्यवस्थापन गर्नेछन् । 

कर्मचारीहरूले आफ्नो ‘तलबी आम्दानीको निस्सा’ अब इमेल वा ह्वाट्सएप जस्ता डिजिटल एक्सेसबाटै प्राप्त गर्न सक्नेछन् ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, यो सुधारको कार्य सरकारको १०० दिने कार्यसूचीको दुई नम्बर बुँदामा उल्लिखित सेवा प्रवाहमा आधारित शासनको भावना अनुसार गरिएको हो । देश वा विदेश जहाँसुकै रहेका कर्मचारीले यो प्रविधिको लाभ उठाउन सक्ने उनले बताए ।

राष्ट्रिय किताबखानाले यसअघि नै आफ्ना सम्पूर्ण सेवालाई फेसलेस बनाइसकेको छ । अर्थात सेवा लिन सेवाग्राही अब किताबखानाको कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने बनाइसकेको छ । 

पछिल्लो यो प्रयासले डिजिटल प्रविधिको प्रयोगमार्फत सरकारी सेवालाई झन्झटरहित र आधुनिक बनाउन अर्को इँटा थपेको पोखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्