
केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलस्थित एक आवासीय विद्यालयमा आगलागी हुँदा कम्तीमा १६ छात्राको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार आगलागीमा परी अन्य ७४ जना विद्यार्थी घाइते भएका छन् ।
प्रहरीका अनुसार ‘उतुमिशी गर्ल्स स्कूल’को छात्रावासमा बिहीबार बिहान सबेरै विद्यार्थीहरू सुतिरहेको समयमा आगलागी भएको हो । केन्या रेडक्रस र प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।
प्रहरी कमाण्डर मसुद म्विन्यीले विद्यालय बाहिर जम्मा भएका अभिभावक र स्थानीयवासीलाई सम्बोधन गर्दै घटनालाई दुःखद् र अत्यन्त पीडादायी भनेका छन् ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब १ बजे लागेको आगोले करिब २२० विद्यार्थी बस्ने छात्रावास भवनलाई पूर्ण रूपमा नष्ट गरेको छ । आगलागीपछि भागदौड र त्रासका कारण केही विद्यार्थी नजिकैका क्षेत्रमा भागेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘हाम्रा सुरक्षाकर्मी अहिले पनि आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्, किनभने रातिको त्रासका कारण केही विद्यार्थी भागेका थिए’, म्विन्यीले भने ।
घटनापछि विद्यालय क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको छ भने अभिभावकलाई मात्र विद्यालय परिसरमा प्रवेश गर्न दिइएको छ । विद्यालयकी एक छात्राकी आफन्त वाम्बुई न्देरितुले घटनास्थलमा पुगेपछि आफूहरू अन्योल र डरको अवस्थामा रहेको बताइन् ।
‘विद्यालय पुगेपछि लाइनमा बस्न भनियो । केही विद्यार्थीको मृत्यु भएको र अन्य घाइते भएर अस्पतालमा रहेको खबरले सबै चिन्तित थियौं’, उनले भनिन् ।
उनका अनुसार माथिल्लो तलामा रहेका केही विद्यार्थीले ज्यान बचाउन झ्यालबाट हाम फाल्दा घाइते भएका थिए । न्देरितुले आफ्नी आफन्त छात्रा आगलागीबाट जोगिए पनि उनको खुट्टा भाँचिएको जानकारी दिइन् ।
केन्यामा विद्यालयमा आगलागी हुने घटना नयाँ होइन । पछिल्ला वर्षहरूमा यस्ता धेरै घटनामा विद्यार्थीको ज्यान गएको छ । धेरैजसो घटनामा विद्यालयको अनुशासन र बसोबास अवस्थाप्रति असन्तुष्ट विद्यार्थीले आगजनी गरेको आरोप लाग्ने गरेको छ भने केही दुर्घटनावश भएका थिए ।
विशेषगरी छात्रावासमा अत्यधिक भीडभाड, आपत्कालीन निकास खुला नराख्नु तथा सुरक्षा मापदण्ड पालना नगर्नुका कारण मानवीय क्षति बढी हुने गरेको बताइन्छ ।
सन् २००१ मा राजधानी नजिकैको माचाकोस काउन्टीमा छात्रावासमा आगजनी हुँदा ६७ विद्यार्थीको मृत्यु भएको थियो, जुन केन्याको सबैभन्दा भीषण विद्यालय आगलागी घटना मानिन्छ ।
त्यसैगरी, सन् २०२४ मा मध्य केन्याको एक छात्रावासमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको थियो भने २०२२ र २०१७ मा भएका यस्तै घटनाले पनि विद्यालय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
केन्याको शिक्षा मन्त्रालयले सन् २०२१ मा संसद्को समितिलाई बुझाएको प्रतिवेदनमा जनवरीदेखि नोभेम्बर २०२० बीच विद्यालयमा आगजनीका १२६ घटना भएको उल्लेख गरिएको थियो । रोयटर्सका अनुसार सन् २०१८ मा मात्रै विद्यालयमा आगजनीका ६० घटना दर्ता भएका थिए ।